बैंकिङ

एनआईसी एशिया बैंक साधारण सभा: हकप्रद शेयर स्वीकृति

१९ जेठ, काठमाण्डौँ । काठमाडौं, एनआईसी एशिया बैंक लिमिटेडको २८औँ वार्षिक साधारण सभा सोमबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणमाथि छलफल गरी स्वीकृति प्रदान गरेको छ।

सञ्चालक समितिको प्रस्तावअनुसार बैंकले सम्बन्धित निकायहरूको आवश्यक स्वीकृति प्राप्त गरी हाल कायम साधारण शेयरको चुक्ता पुँजीको २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णयलाई सभाले अनुमोदन गरेको छ। यससँगै बैंकले पुँजी संरचना सुदृढीकरणतर्फ अर्को कदम अघि बढाएको जनाएको छ।

सभाले संस्थापक तथा सर्वसाधारण शेयरधनीहरूको प्रतिनिधित्व गर्दै विभिन्न व्यक्तिहरूलाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित समेत गरेको छ। संस्थापक शेयरधनीको तर्फबाट अशोक कुमार अग्रवाल, रामचन्द्र संघई र जयन्त कुमार अग्रवाल निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनीको तर्फबाट आदित्य कुमार अग्रवाल, केशव प्रसाद लम्साल र अनुपा प्रधान राजभण्डारी निर्विरोध निर्वाचित भएका छन्।

बैंकका अनुसार साधारण सभाबाट पारित निर्णयहरूले संस्थागत सुशासन सुदृढ गर्दै आगामी दिनमा बैंकको व्यावसायिक विस्तार र वित्तीय स्थायित्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।