२० जेठ, म्याग्दी । आज जुन ३ अर्थात् जेठ २० गते आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा पहिलो पटक मानव पाइला परेको ऐतिहासिक दिन हो।
आजकै दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको नेतृत्वमा लुइस लाचेनाल र दुई नेपाली शेर्पासहित चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए।
आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये अन्नपूर्ण प्रथमको सफल आरोहणसँगै नेपालमा हिमाल आरोहणको युग सुरु भएको थियो। अन्नपूर्णको सफल आरोहणपछि नेपाल विश्वभर चर्चित बनेको थियो।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७६ वर्ष पूरा भएको छ। यस अवसरमा गाउँपालिका र वडा कार्यालयले विभिन्न कार्यक्रम आयोजना गरी आरोहण दिवस मनाउँदै छन्।
अन्नपूर्ण हिमाल आरोहणको ७६ वर्षको अवधिमा स्वदेशी तथा विदेशी गरी ५७२ जना आरोही शिखरमा पुगिसकेका छन्। पर्यटन विभागले गत जेठ १९ गते प्रकाशित गरेको ‘पर्वतारोहणः तथ्य र चित्र’ नामक पुस्तकअनुसार ५ जुन २०२३ सम्म ४८८ जना, सन् २०२५ मा ४४ जना र चालु वसन्तकालीन याममा ४० जना गरी कुल ५७२ जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका छन्।
केही वर्षअघिसम्म सुनसान रहने अन्नपूर्ण क्षेत्रमा पछिल्ला पाँच वर्षयता पर्वतारोहीको सङ्ख्या उल्लेख्य रूपमा बढ्न थालेको मौरिस हर्जोग पदमार्गका अभियन्ता तथा स्थानीय पर्यटनकर्मी तेज गुरुङले बताउनुभयो।
उहाँले भन्नुभयो, “७६ वर्षअघि विश्वभर परिचित बनेको अन्नपूर्णलाई नेपाली समाजमाझ चिनाउन हामीलाई झन्डै ७५ वर्ष लाग्यो। गत वर्षदेखि सरकारी निकायले औपचारिक रूपमा अन्नपूर्ण प्रथम हिमालको आरोहण दिवस हिमालकै भूगोलमा मनाउन थालेका छन्।”
फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको नेतृत्वमा लुइस लाचेनाल र दुई नेपाली शेर्पाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेसँगै हिमाल आरोहणको युग सुरु भए पनि लामो समयसम्म अन्नपूर्ण गुमनाम रहेको पर्यटनकर्मी गुरुङको भनाइ छ।
म्याग्दीको दाना हुँदै मुस्ताङको घाँसाबाट पूर्व निलगिरि साउथ हिमालको फेदी हुँदै म्याग्दीको नारच्याङ गाउँमाथिको हुमखोला र भुस्केटमेलाबाट आरोहीहरू अन्नपूर्ण प्रथम हिमालतर्फ पुगेका थिए।
अन्नपूर्ण हिमाल आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा विश्वकै सर्वोच्च शिखर सगरमाथामा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए।
गत वर्ष गाउँपालिकाले आधार शिविरमै अन्नपूर्ण आरोहणको हीरक महोत्सव मनाएको थियो।
पहिला आरोहीहरूले प्रयोग गरेको पदमार्गलाई गाउँपालिकाले ‘मौरिस हर्जोग पदमार्ग’ नामकरण गरी पूर्वाधार निर्माण र प्रचारप्रसार थालेपछि चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकास हुन थालेको छ।
गत वर्षको हीरक महोत्सवका अवसरमा अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलो आरोही मौरिस हर्जोग, लुइस लाचेनाल तथा नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाको सालिक स्थापना गर्नुका साथै खुला सङ्ग्रहालय निर्माण गरिएको थियो।
पर्यटकको सुविधाका लागि पदमार्गअन्तर्गत हुमखोलादेखि आधार शिविरसम्मका विभिन्न स्थानमा अस्थायी संरचना निर्माण गरी चिया–खाजा पसल, खाना तथा आवास सुविधासहितका होटल सञ्चालनमा ल्याइएको छ। सन्धीखर्क, भुस्केटमेला र पञ्चकुण्ड ताल परिसरमा तीन वटा आश्रयस्थल निर्माण गरिएका छन्। हुमखोला, फुतफुते झरना, गुफाफाँट, भुस्केट र पञ्चकुण्ड क्षेत्रमा खानेपानी तथा शौचालयलगायतका पूर्वाधार पनि निर्माण गरिएका छन्।
हुमखोलाबाट सुरु हुने मौरिस हर्जोग पदमार्ग हुँदै चार हजार १९० मिटर उचाइमा रहेको आधार शिविरसम्मको पदयात्रामा पछिल्ला दुई वर्षयता आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ।
अन्नपूर्ण आधार शिविर र पदमार्गमा पर्यटकीय पूर्वाधार निर्माण तथा प्रचारप्रसार गरी यसलाई गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो।
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट करिब २२ किलोमिटर सवारी यात्रापछि हुमखोला पुगिन्छ। त्यहाँबाट पञ्चकुण्ड ताल हुँदै आधार शिविरसम्म २१ किलोमिटर लामो मौरिस हर्जोग पदमार्ग विकास गरिएको छ। पदमार्गमा पर्ने फुतफुते झरना, पञ्चकुण्ड ताल तथा हिमाली प्राकृतिक सौन्दर्यका कारण यो क्षेत्र पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ





