समाचार

रास्वपाको ५६ जिल्लाले पायो नयाँ नेतृत्व : कहाँ-को चुनिए ?

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५६ वटा जिल्लामा अधिवेशन सम्पन्न भएको छ।

अधिवेशन भएकामध्ये झण्डै ९० प्रतिशत हाराहारी जिल्लामा निर्वाचन भएको केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले जानकारी दिएका छन्।

उनका अनुसार १२ वटा जिल्लामा अधिवेशन प्रक्रियामा रहेको छ। यसमध्ये केही जिल्लामा चुनाव भएर मतगणना भइरहेको छ। मधेस प्रदेशका अधिकांश जिल्लामा अधिवेशन हुन बाँकी छ।

महोत्तरी, रौतहट, सिराहा, पर्सा, सर्लाहीको अधिवेशन निर्वाचनको चरणमा छ। सप्तरी र बाराको अधिवेशन मंगलबार तोकिएको छ। धनुषाको अधिवेशन बुधबारलाई तय गरिएको छ।

सिन्धुपाल्चोकको जिल्ला अधिवेशन नेतृत्व चयनमा पुगेर अवरूद्ध बनेको केन्द्रीय संगठन विभागले बताएको छ।

केन्द्रीय निर्वाचन आयोगले काभ्रेका सांसद मधुकुमार चौलागाईंको नेतृत्वमा निर्वाचन समिति नै बनाएर जिल्ला पठाए पनि त्यसले पनि अधिवेशन गर्न सकेन।

रास्वपाका अधिवेशन भएकामध्ये अर्घाखाँची र बर्दियामा महिला नेतृत्व निर्वाचित भएका छन्।

अर्घाखाँचीमा सीता पराजुली र बर्दियामा शान्ता बुढा क्षेत्री निर्वाचित भएकी छन्।