२९ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आउँदो आइतबारदेखि चीनको चार दिने औपचारिक भ्रमणमा जाने भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हुने यो भ्रमण जेठ ३१ गतेदेखि असार ३ गतेसम्म तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। उक्त वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने बताइएको छ।
यसका साथै उनले चीन सरकारका उच्चस्तरीय अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।
मन्त्री खनालले बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आयोजना गरिने लगानी सम्मेलनमा पनि सहभागिता जनाउने छन्। सम्मेलनमार्फत नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्य राखिएको छ। सो अवसरमा उनले चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गर्दै नेपालमा लगानीका सम्भावना र अवसरबारे प्रस्तुति दिने कार्यक्रम छ।
भ्रमणका क्रममा उनले नेपाली राजदूतावासद्वारा आयोजना गरिने स्वागत समारोहमा सहभागी हुने तथा चीनमा रहेका नेपाली समुदायसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।





