समाचार

नयाँ पार्टी घोषणा नहुँदै धवल–प्रसाईंको शक्ति प्रदर्शन, ३१ विभाग बनाए

३१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएका धवलशमशेर राणा र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठनको तयारीलाई तीव्र बनाएका छन्। सोही अभियानअन्तर्गत उनीहरूले ३१ वटा विभाग गठन गर्दै सम्बन्धित विभाग प्रमुखहरूलाई जिम्मेवारी हस्तान्तरण गरेका छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा राणा र प्रसाईंले संयुक्त रूपमा विभाग प्रमुखहरूलाई जिम्मेवारी प्रदान गरेका हुन्। पार्टी एकता, कार्यसम्पादन, वार्ता लगायत विभिन्न क्षेत्र समेटिएका विभाग गठन गरी संगठन निर्माणको काम अघि बढाइएको जनाइएको छ।

नयाँ पार्टीको संरचनामा मुकुन्दश्याम गिरी, सगुनसुन्दर लावती, राजु आचार्य, धनश्वर शाही, खड्ग जिसी, ईश्वरीप्रसाद भट्टराई, केशवराज श्रेष्ठ, डा. महेन्द्रजंग शाह, दिलविकास राजभण्डारीलगायतलाई विभिन्न जिम्मेवारी दिइएको छ।

धवलशमशेर राणासहितका नेताहरूले गत २१ जेठमा राप्रपा परित्याग गरेका थिए। त्यसपछि राणा समूह र दुर्गा प्रसाईं नेतृत्वको समूहबीच सहकार्य सुरु भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै धवलशमशेर राणाले राप्रपाको नेतृत्वले कार्यकर्तामाथि अनावश्यक कारबाही गरेको आरोप लगाए। उनले वर्तमान सरकारको कामप्रति पनि असन्तुष्टि जनाउँदै छोटो अवधिमै सरकारबाट धेरै कमजोरी भएको टिप्पणी गरे।