२ असार, किमाथांका । संखुवासभा जिल्ला कारागारमा दुई कैदीको हत्या प्रकरणका १५ जनालाई जन्मकैदको सजाय सुनाइएको छ ।
जिल्ला कारागारमा ०८० साउन २४ गते संखुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो ।।
कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अरू कैदीबन्दीले सामूहिक कुटपिट गर्दा दुई कैदीको मृत्यु भएको अनुसन्धानबाट खुलेको थियो ।
दुई कैदी हत्या प्रकरणका सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला भएको संखुवासभा जिल्ला अदालतका स्रेस्तेदार उज्वल न्यौपानेले जानकारी दिए । न्यायाधीश राजकुमार कोइरालाको इजलासले मलुकी अपराध संहिता, २०७४ को दफा १७१ ९१० बमोजिमको कसुरमा जन्मकैदको पैmसला सुनाएको हो ।
सोही संहिताको १८६ बमोजिम प्रतिवादीबाट जनही ५० हजार रुपैयाँ तोलांगी र बलामीका नजिकका हकदारलाई क्षतिपूर्ति भराउने ठहर गरिएको अदालतका स्रेस्तेदार न्यौपानेले बताए ।
कैदी हत्या घटनामा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राईलाई जन्मकैदको पैmसला भएको छ ।
यस्तै, चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीहरू मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेलाई समेत जन्मकैदको फैसला भएको अदालतका स्रेस्तादार न्यौपानेले जानकारी दिए ।





