२ असार, काठमाडौं । इन्डोनेसियाको मध्य सुलावेसी टापुमा आज ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पका कारण विभिन्न स्थानमा क्षति पुगेको बताइएको छ । आठ वर्षअघि विनाशकारी भूकम्प र सुनामीको चपेटामा परेको पालु सहरका बासिन्दाहरू आतंकित बनेको एपीले जनाएको छ ।
भूकम्पको शक्तिशाली धक्कापछि करिब चार लाख जनसंख्या रहेको मध्य सुलावेसी प्रान्तको राजधानी पालु र आसपासका क्षेत्रका मानिसहरू ज्यान जोगाउन खुला स्थानतर्फ भागेका थिए । सुरक्षाका लागि केही अस्पतालहरूले आईभी ड्रिप लगाइरहेका बिरामीहरूलाई समेत भवनबाहिर खुला स्थानमा सारेका थिए ।
प्रभावित क्षेत्रका तस्बिरहरूमा घरका छाना आंशिक रूपमा भत्किएका, पर्खालहरू चर्किएका तथा सडकमा भग्नावशेषहरू छरिएका देखिएको बताइएको छ । राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार, क्षतिको विस्तृत विवरण, सम्भावित मानवीय क्षति तथा विस्थापितहरूको तथ्यांक संकलन भइरहेको छ ।
पालुस्थित एक चारतारे होटेलका महाप्रबन्धक एफेन्दी नातालीले भने, “हामीले होटेलका सबै पाहुनाहरूलाई सुरक्षित रूपमा बाहिर निकालिसकेका छौँ ।” उनले होटेलमा सामान्य क्षति मात्र पुगेको बताए ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार, भूकम्पको केन्द्रविन्दु पालु सहरबाट करिब ४३ किलोमिटर पूर्व–दक्षिणपूर्वमा र जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको थियो ।
भूकम्पपछि कयौँ पराकम्पहरू गएका छन्, जसमध्ये सबैभन्दा शक्तिशाली पराकम्प ५.२ म्याग्निच्युडको रेकर्ड गरिएको छ । इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकीय एजेन्सीले सुनामीको कुनै खतरा नरहेको स्पष्ट पारेको छ । यद्यपि, केही समयसम्म पराकम्पहरू जारी रहन सक्ने चेतावनी दिएको छ ।





