ब्रेकिङ न्युज

रास्वपाको ४ प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न, कहाँ- कहाँ बाँकि छ ?

२ असार, काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अहिलेसम्म चार प्रदेश र ६४ जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ ।

पछिल्लो विवरणअनुसार ६०९ पालिका, चार हजार ३६३ वडामा अधिवेशन सम्पन्न भइसकेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ भने मधेश प्रदेशको अधिवेशन स्थगन रहेको छ ।

त्यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालू रहेको रास्वपाले जनाएको छ ।

अहिलेसम्म कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशका रुकुमपूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ, मधेश प्रदेशका धनुषा, सप्तरी बारा र सर्लाहीमा अधिवेशन हुन नसकेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

यसैगरी सिन्धुपाल्चोक, सिरहा, महोत्तरी, रौतहटमा अधिवेशन प्रक्रिया शुरू भई स्थगन भएको उनले बताए ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन यही असार ७, ८ र ९ गते चितवनमा आयोजना हुनेगरी तयारी तीव्र भइरहेको छ ।