५ असार, बैतडी । बैतडीमा शुक्रबार साँझ यात्रुबाहक बस दुर्घटना भएको छ। धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुप प्र ०१–००१ ख ३६४६ नम्बरको बस जिल्लाको दशरथचन्द नगरपालिका–४ शाहिलेक नजिक दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार साँझ करिब ५:४५ बजे भएको दुर्घटनामा बस सडकबाट करिब २५ मिटर तल खसेको छ।
घटनालगत्तै प्रहरी र स्थानीय बासिन्दा उद्धार कार्यमा खटिएका छन्। दुर्घटनामा कति यात्रु सवार थिए, मानवीय क्षति वा घाइतेको अवस्था कस्तो छ भन्ने विवरण भने अझै सार्वजनिक भएको छैन।
जिल्ला प्रहरी कार्यालय बैतडीले उद्धार कार्य जारी रहेको जनाउँदै दुर्घटनाको कारण र थप विवरण संकलन भइरहेको जनाएको छ।





