ब्रेकिङ न्युज

रसुवाबाट आयात भएका गाडीमा किन मच्चियो विवाद ? मुस्ताङबारे आयो यस्तो निष्कर्ष

५ असार, काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी) आयात प्रकरणमा भन्सार विभागले गरेको अध्ययनले मुस्ताङको कोरला नाकाबाट आयात भएका सवारीसाधनमा कुनै अनियमितता नभेटिएको निष्कर्ष निकालेको छ। तर, रसुवा नाकाबाट भएका केही आयातमा भने कानुनी प्रक्रिया उल्लंघन भएको पुष्टि भएको छ।

विभागका अनुसार मुस्ताङ भन्सार कार्यालयबाट १२ र १३ जेठमा जाँचपास गरिएका ६४९ वटा विद्युतीय सवारीसाधन १४ जेठभित्रै नेपाल प्रवेश गरिसकेका थिए। सीसीटीभी फुटेज, आधिकारिक अभिलेख र प्रज्ञापनपत्रको अध्ययनपछि सबै प्रक्रिया नियमानुसार सम्पन्न भएको निष्कर्ष निकालिएको हो।

यता रसुवा भन्सारमा भने कतिपय सवारीसाधन भौतिक रूपमा नआइपुग्दै कागजातका आधारमा मात्रै जाँचपास गरिएको भेटिएको विभागले जनाएको छ। स्थलगत अध्ययन र अभिलेख परीक्षणबाट अनियमितता पुष्टि भएपछि तत्कालीन कार्यालय प्रमुखसहित १३ कर्मचारीलाई निलम्बन गर्दै विभागीय कारबाही प्रक्रिया अघि बढाइएको छ।

यस्तै, लक्ष्मी ई–मोबिलिटी, साइमेक्स इन्क, सीजी मोटर्स, पूजा इन्टरनेसनल र पूजा कन्स्ट्रक्सन नेपाल प्रालि लगायत आयातकर्ता कम्पनीविरुद्ध पनि आवश्यक कारबाही प्रक्रिया अघि बढाउन रसुवा भन्सार कार्यालयलाई निर्देशन दिइएको छ। केही भन्सार एजेन्टमाथि समेत कारबाही प्रक्रिया सुरु गरिएको विभागले जनाएको छ।

बजेट सार्वजनिक हुनुअघि करसम्बन्धी सूचना चुहाएर सवारी आयात गरिएको आशंकापछि अर्थ मन्त्रालयको निर्देशनमा भन्सार विभागले मुस्ताङ र रसुवा नाकाको छुट्टाछुट्टै अध्ययन गरेको थियो। प्रतिवेदन प्राप्त भएसँगै विभागले आवश्यक कानुनी तथा विभागीय कारबाही अघि बढाएको जनाएको छ।