६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशनअघि नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह गर्दै पार्टीको आन्तरिक लोकतन्त्रलाई अझ सुदृढ बनाउनुपर्ने बताएका छन्।
भरतपुरस्थित दियालो फुडल्यान्डमा शनिबार बसेको केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै लामिछानेले पार्टीको आजको अवस्थासम्म आइपुग्नु सबै नेता–कार्यकर्ताको विश्वास, मेहनत र निरन्तर साथको परिणाम भएको उल्लेख गरे। महाधिवेशनलाई प्रतिस्पर्धाको मात्र नभई पार्टीलाई थप सशक्त बनाउने अवसरका रूपमा लिनुपर्ने उनको भनाइ थियो।
उनले महाधिवेशनपछि जो जुनसुकै जिम्मेवारीमा रहे पनि पार्टीप्रति उत्तरदायी भएर काम गर्ने विश्वास व्यक्त गरे। पदभन्दा पनि जिम्मेवारी र निष्ठा महत्वपूर्ण हुने उनको धारणा थियो।
सम्बोधनका क्रममा लामिछानेले संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान र लोकतान्त्रिक मूल्य–मान्यताप्रति रास्वपाको प्रतिबद्धता दोहोर्याए। विगतका त्याग, बलिदान र संघर्षकै जगमा अहिलेको व्यवस्था निर्माण भएको उल्लेख गर्दै त्यसप्रति कहिल्यै सम्झौता नगर्ने स्पष्ट पारे।
उनले पार्टीभित्रको आन्तरिक लोकतन्त्र आफ्नो राजनीतिक जीवनको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताउँदै त्यसलाई कमजोर बनाउने कुनै पनि कार्यमा सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे। संस्थापक सभापतिका रूपमा आफूले निर्वाह गरेको भूमिकाको मूल्यांकन पार्टीका नेता तथा कार्यकर्ताले गर्ने भए पनि लोकतान्त्रिक अभ्यासलाई निरन्तर सुदृढ बनाउने प्रयास जारी रहने उनको भनाइ थियो।





