ब्रेकिङ न्युज

रास्वपाले किन बल्ल महाधिवेशन गर्ने निर्णय गर्‍यो ? रवि लामिछानेले खोले कारण

६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई संस्थागत र वैधानिक रूपमा अझ सुदृढ बनाउने सबैभन्दा महत्त्वपूर्ण माध्यम महाधिवेशन भएको बताएका छन्।

शनिबार चितवनको भरतपुरमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले रास्वपाले अब महाधिवेशनतर्फ अघि बढ्ने निर्णय गरेको जानकारी दिए। उनका अनुसार महाधिवेशन यसअघि नै गर्ने योजना भए पनि पार्टीभित्र भएका विभिन्न घटनाक्रमका कारण त्यसलाई अघि बढाउन सम्भव भएको थिएन।

लामिछानेले अहिले केही हदसम्म अनुकूल वातावरण बनेपछि महाधिवेशनको तयारीलाई अघि बढाउने निर्णय गरिएको स्पष्ट पारे। उनले पार्टी स्थापना भएको चार वर्षको अवधिमा जनताको निरन्तर मूल्यांकन र खबरदारीले रास्वपालाई अझ परिपक्व बनाएको दाबी गरे।

उनका अनुसार नागरिकबाट प्राप्त सुझाव, आलोचना र खबरदारी नै पार्टीको मार्गदर्शन बनेको छ। आफूहरू सिक्दै र अनुभव बटुल्दै यहाँसम्म आइपुगेको उल्लेख गर्दै उनले आगामी महाधिवेशनले पार्टीलाई थप संस्थागत बनाउने विश्वास व्यक्त गरे।