ब्रेकिङ न्युज

एन्फा पदाधिकारीलाई विदेश जान अदालतको अनुमति

१९ असार, काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी तथा सदस्यहरूको विदेश भ्रमणमा लगाइएको रोक तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिसका आधारमा अध्यागमन विभागले लगाएको विदेश यात्रा प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न विपक्षीका नाममा आदेश दिएको हो।

राखेपको सिफारिसपछि अध्यागमन विभागले एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राईसहित अन्य पदाधिकारी तथा सदस्यहरूको विदेश भ्रमणमा रोक लगाएको थियो। त्यसविरुद्ध अध्यक्ष नेम्बाङ उच्च अदालत पुगेका थिए।

अदालतले विदेश भ्रमण रोक लगाउन राखेपले पठाएको पत्र तथा त्यस सम्बन्धमा विभिन्न सरकारी निकायमा भएका पत्राचारसमेत तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ।

एन्फाका पदाधिकारीमाथि संस्थागत आर्थिक हिनामिनाको आरोपमा अनुसन्धान भइरहेको छ। सोही आधारमा विदेश यात्रा रोकिएको थियो। केही दिनअघि फिफा विश्वकपसम्बन्धी कार्यक्रममा सहभागी हुन विदेश जान लागेका अध्यक्ष नेम्बाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन विभागले फिर्ता पठाएको थियो।

अदालतको पछिल्लो अन्तरिम आदेशसँगै एन्फा पदाधिकारीहरूको विदेश यात्रामाथि लगाइएको रोक तत्कालका लागि निष्क्रिय भएको छ भने मुद्दाको अन्तिम टुंगो लाग्न बाँकी छ।