२० असार, काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान नेपाली राजनीतिमा देखिएको पपुलिजम र यसको दीर्घकालीन प्रभावबारे गम्भीर विश्लेषण प्रस्तुत गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले पपुलिजमका भरमा सत्तामा पुग्नु एउटा कुरा भए पनि सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुने चेतावनी दिएका छन्।
पोखरेलले आफ्नो फेसबुक स्टेटसमा लेखेका छन्, “पपुलिजम र सामाजिक सञ्जालको अल्गोरिदमका भरमा लहर सिर्जना गरेर सत्तामा पुग्नु एउटा कुरा हो, तर सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ।”
महासचिव पोखरेलले वर्तमान राजनीतिक परिस्थितिलाई पुराना दलहरूका लागि संकट मात्र नभई आफूलाई पुनर्जीवित गर्ने एउटा अवसरका रूपमा पनि व्याख्या गरेका छन्।
उनले विचार, संगठन, आचरण र व्यवहारमा प्रभावकारी सुधार ल्याएर मात्रै पुराना दलहरूले आफूलाई जनतामा पुनः स्थापित गर्न सक्नेमा जोड दिएका छन्।
यो टिप्पणीले एमाले लगायतका प्रमुख दलहरूले आत्मसमीक्षा गरी अगाडि बढ्नुपर्ने आवश्यकता उनले औंल्याएका छन्।
उनले थप भनेका छन्, “यदी पुराना दलहरूले समयमै आफूलाई सुधारगर्न सकेनन् भने, राजनीतिमा एउटा पपुलिष्टको पतन पछि त्यसको ठाउँ पुनः अर्को पपुलिष्टले नै लिने सम्भावना रहन्छ।”
पोखरेलले नेकपा (एमाले) ले यो सत्यलाई राम्ररी बुझेको र वर्तमान चुनौतीलाई हरेक ढंगले सामना गर्न सक्षम रहेको दाबी गरेका छन्।
उनले एमाले मुलुकलाई नयाँ सोच र संकल्पका साथ संविधानवाद र परिपूर्ण लोकतन्त्रको दिशामा अघि बढाउन प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन्।






