२० असार, काठमाडौं । इरानका दिवंगत सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको ६ दिने सार्वजनिक अन्त्येष्टि समारोह सुरु भएको छ ।
आजदेखि तेहरानस्थित ‘र्ग्यान्ड मोसल्ला’ मस्जिदमा अन्त्येष्टि समारोह सुरु भएको हो ।
समारोहमा सहभागी हजारौँ नागरिकले ‘अमेरिकाको विनाश होस्’, ‘इजरायलको विनाश होस्’ र ‘बदला, बदला’ भन्दै चर्को नाराबाजी गरेका छन् ।
समाचार एजेन्सी एएफपीका अनुसार बदलाको प्रतीक मानिने रातो ब्यानर बोकेका शोकाकुल जनसमुदायले विशाल धार्मिक परिसर भरिएको थियो ।
इरानी अधिकारीहरूका अनुसार आगामी तीन दिनमा तेहरानमा हुने कार्यक्रममा एक करोड ५० लाखदेखि दुई करोडसम्म मानिस सहभागी हुने अनुमान गरिएको छ ।
यो समारोह खामेनेईप्रति एक सातासम्म चल्ने अन्तिम श्रद्धाञ्जली कार्यक्रमको सुरुआत हो । उनले सन् १९८९ देखि मृत्यु नहुँदासम्म इस्लामिक गणतन्त्र इरानको सर्वोच्च नेताका रूपमा नेतृत्व गरेका थिए । गत २८ फेब्रुअरीमा अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा परी ८६ वर्षको उमेरमा उनको मृत्यु भएको थियो ।
उनको पार्थिव शरीरलाई सोमबारसम्म श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ । त्यसपछि सोमबार तेहरानमा अन्तिम शवयात्रा निकालिनेछ ।
मंगलबार पार्थिव शरीरलाई कोम लगिनेछ भने बुधबार इराकका शिया समुदायका पवित्र सहर बगदाद, कर्बला र नजफ पुर्याइनेछ । अन्त्यमा बिहीबार उनको पैतृक सहर मशहदमा दफन गरिने कार्यक्रम छ ।
सन् १९८९ मा आयतुल्लाह रुहोल्लाह खोमेनेईको अन्त्येष्टिपछि यो इरानमा हुने सबैभन्दा ठूलो जनसहभागितायुक्त शोक समारोह हुने अपेक्षा गरिएको छ । त्यसैले सुरक्षा व्यवस्था कडा पारिएको छ ।
मुख्य सडकहरू बन्द गरिएका छन्, हवाई क्षेत्र पनि केही समयका लागि बन्द गरिनेछ । आगामी दिनमा तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने पूर्वानुमान रहेकाले अधिकारीहरूले प्रमुख मार्गहरूमा पानीका ट्यांकरसमेत तैनाथ गरेका छन् ।
समारोहको उद्घाटन सत्रमा इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफलगायत वरिष्ठ इरानी नेताहरू सहभागी थिए । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ, रुसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभलगायत विभिन्न देशका उच्चस्तरीय प्रतिनिधिहरू पनि उपस्थित थिए ।
हमास, हेजबुल्लाह र अफगानिस्तानको तालिबान सरकारका प्रतिनिधिहरूले पनि समारोहमा सहभागिता जनाएका छन् ।
यसैबीच, खामेनेईका छोरा तथा सम्भावित उत्तराधिकारी मानिएका मोज्तबा खामेनेई सार्वजनिक रूपमा उपस्थित हुन्छन् वा हुँदैनन् भन्ने विषयलाई पनि विशेष चासोका साथ हेरिएको छ । पिताको मृत्युयता उनी सार्वजनिक रूपमा देखिएका छैनन् । टाइम्स अफ इन्डिया





