२० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको स्थायित्वमाथि प्रश्न उठाउँदै यो सरकार ‘चटकका भरमा बनेको’ भएकाले त्यही आधारमा अन्त्य हुने दाबी गरेका छन्।
शनिबार आयोजित नेकपा एमालेको पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारभित्रै अस्थिरता निम्त्याउने तत्वहरू रहेको जिकिर गरे। उनका अनुसार सरकारलाई बाहिरी शक्तिले ढाल्नुपर्ने अवस्था नभई सरकार आफ्नै कमजोरीका कारण टिक्न नसक्ने अवस्था सिर्जना भएको छ।
ओलीले सरकार चाँडै परिवर्तन हुन सक्ने संकेत गरे पनि एमाले त्यसको प्रतीक्षामा मात्र बस्न नहुने बताए। उनका अनुसार सरकारको असफलताको पर्खाइमा बस्दा देश, लोकतन्त्र र जनताले ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्छ।
उनले परिवर्तन आफैं आउने विषय नभई संगठित र सचेत प्रयासबाट छिटो सम्भव हुने प्रक्रिया भएको उल्लेख गर्दै एमाले कार्यकर्तालाई सक्रिय भएर जनतामाझ जान निर्देशन दिए।
ओलीले देशको वर्तमान परिस्थितिमा जिम्मेवार राजनीतिक हस्तक्षेप आवश्यक रहेको भन्दै सरकारको विकल्प निर्माणका लागि एमालेले जनस्तरबाट अभियानलाई तीव्र बनाउने संकेतसमेत गरेका छन्।





