२० असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो १०० दिनको कार्यसम्पादनलाई पूर्ण रूपमा असफल भएको टिप्पणी गरेका छन्।
शनिबार बुटवलमा आयोजित नेकपाको लुम्बिनी प्रदेशस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन पुगेका प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै सरकारले जनतालाई दिएका आश्वासनअनुसार कुनै उल्लेखनीय परिणाम दिन नसकेको बताए।
उनले सरकार जनतामा ठूलो अपेक्षा र आश्वासन सिर्जना गर्दै गठन भएको भए पनि पहिलो १०० दिनको कार्यसम्पादनले ती प्रतिबद्धता पूरा गर्न नसकेको दाबी गरे। उनका अनुसार सरकारको प्रारम्भिक कार्यकालले जनअपेक्षा सम्बोधन गर्न नसकेको स्पष्ट देखिएको छ।
राजनीतिक सहकार्यको सन्दर्भमा प्रचण्डले अहिले देशलाई केवल वामपन्थी एकताले मात्र पुग्ने अवस्था नरहेको उल्लेख गरे। उनले राष्ट्रिय आवश्यकता अनुसार कांग्रेस, एमालेलगायत सबै प्रमुख राजनीतिक शक्तिबीच सहकार्य र संवाद आवश्यक रहेको धारणा व्यक्त गर्दै त्यस दिशामा पहल भइरहेको बताए।





