२० असार, काठमाडौं । सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहतस्वरूप प्रतिपरिवार २५ हजार रुपैयाँ उपलब्ध गराइसकेको जनाएको छ।
सरकारको १०० दिन पूरा भएको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सरकारले विस्थापित सुकुमवासी परिवारका लागि गरिएको राहत वितरण र पुनःस्थापनासम्बन्धी प्रगतिबारे जानकारी दिएको हो।
सरकारका अनुसार मन्त्रिपरिषद्को ५ जेठको निर्णयअनुसार हालसम्म ४६५ परिवारलाई राहत रकम वितरण गरिएको छ। सहरी विकास मन्त्रालयको ११ वैशाखको निर्णयपछि काठमाडौंका १७ वटा सुकुमवासी बस्तीबाट कुल २ हजार ६०८ परिवार विस्थापित भएका थिए।
तीमध्ये ३८८ परिवारलाई अस्थायी ‘होल्डिङ सेन्टर’मा राखिएको सरकारले जनाएको छ। बाँकी २ हजार २२० परिवार भने अझै होल्डिङ सेन्टरबाहिर रहेको जानकारी पनि पत्रकार सम्मेलनमार्फत दिइएको छ।
सरकारले विस्थापित परिवारको राहत, अस्थायी व्यवस्थापन तथा दीर्घकालीन पुनःस्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।





