२० असार, काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारी योजनाअन्तर्गत नेपाली सेनाले परीक्षण उत्पादन सुरु गरेको सरकारले जनाएको छ।
सरकारको सय दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले उद्योग पुनः सञ्चालनको तयारी तीव्र बनाइएको जानकारी दिए। उनका अनुसार सरकारले २०८३ असार १८ गते उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेसँगै अर्थ मन्त्रालयबाट आवश्यक बजेटसमेत निकासा भइसकेको छ।
सचिव राउतका अनुसार उद्योग सञ्चालनको दीर्घकालीन मोडालिटी तय गर्न हाल बन्द तथा रुग्ण रहेका सात वटा सरकारी उद्योगको सम्पत्ति र दायित्वको मूल्याङ्कन (डीडीए) भइरहेको छ। उक्त प्रतिवेदन प्राप्त भएपछि उद्योग सञ्चालनको उपयुक्त ढाँचा सरकारले तय गर्नेछ।
यस्तै, मन्त्रिपरिषद्ले उदयपुर सिमेन्ट उद्योग लिमिटेडअन्तर्गत चुनढुङ्गा र रातो माटो खानीको म्याद सकिएको लाइसेन्स नवीकरण गर्ने निर्णय पनि गरिसकेको सचिव राउतले जानकारी दिए।
सरकारले रुग्ण सरकारी उद्योगहरू पुनर्जीवित गर्ने नीति अन्तर्गत हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने तयारी अघि बढाएको जनाएको छ।





