ब्रेकिङ न्युज

बीपी राजमार्ग हुँदै यात्रा गर्नेहरूलाई सूचना, सडक अवरुद्ध

२१ असार, काभ्रेपलाञ्चोक । लगातारको वर्षापछि रोशी र दाप्चाखोलामा आएको बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आइतबार अपराह्नदेखि रोशी खोलाको जलस्तर बढेसँगै चौकीडाँडा र घुमाउने क्षेत्रका डाइभर्सनमा क्षति पुगेको हो। त्यसपछि सुरक्षाका लागि राजमार्गमा सबै प्रकारका सवारी साधनको आवागमन तत्काल रोकिएको प्रहरीले जनाएको छ।

राजमार्ग बन्द भएपछि काठमाडौंबाट पूर्वतर्फ र पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेका सवारीसाधनलाई सुरक्षित स्थानमा रोकिएको छ। काभ्रेपलाञ्चोकतर्फ काभ्रेभञ्ज्याङ र मंगलटार तथा सिन्धुलीतर्फ नेपालथोक क्षेत्रमा सवारी होल्ड गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले सडकको अवस्था सुरक्षित नभएसम्म सवारी सञ्चालन नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न चालक तथा यात्रुहरूलाई आग्रह गरेको छ। साथै, सडक पुनः सञ्चालनबारे निर्णय क्षतिको मूल्याङ्कनपछि मात्रै गरिने जनाएको छ।