समाचार

सशस्त्र प्रहरीको स्कुलमै १० करोड घोटाला कसरी सम्भव भयो ?

२१ असार, काठमाडौं । सशस्त्र प्रहरी बलद्वारा सञ्चालन गरिएको कीर्तिपुरस्थित एपीएफ स्कुलमा आर्थिक अनियमितताको ठूलो प्रकरण सार्वजनिक भएको छ। एक वर्षमै करिब १० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको आरोपमा लेखा प्रमुखसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा लेखा प्रमुख इन्स्पेक्टर कल्पना गुरुङ र उनका साथी लिलाबहादुर लामा रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार पक्राउ गरी थप अनुसन्धान अघि बढाएको हो।

सशस्त्र प्रहरी हेडक्वार्टरको प्रारम्भिक छानबिनमा स्कुलको खातामा जम्मा हुनुपर्ने रकम व्यक्तिगत खातामा स्थानान्तरण गरी हिनामिना गरिएको देखिएपछि अनुसन्धान अघि बढाइएको बताइएको छ।

छानबिनका क्रममा आर्थिक वर्ष २०८२/८३ मा मात्रै करिब १० करोड रुपैयाँभन्दा बढी रकम अनियमित रूपमा खर्च वा अपचलन भएको आशंका गरिएको छ। रकम लेखापाल गुरुङको खातामा जम्मा हुने र उनका नजिकका साथी लिलाबहादुर लामाले बैंकबाट रकम झिक्ने गरेको पाइएको प्रहरी स्रोतको दाबी छ।

घोटाला सार्वजनिक भएपछि सशस्त्र प्रहरी हेडक्वार्टरले स्कुलको बजेट नै रोक्दै विस्तृत छानबिन अघि बढाएको थियो। यस क्रममा स्कुलका कमान्डेन्ट तथा अन्य उच्च अधिकारीहरूको भूमिकामाथि पनि प्रश्न उठेको छ।

सरुवा मापदण्डअनुसार दुई वर्षमा लेखापाल परिवर्तन हुनुपर्ने भए पनि गुरुङ ६ वर्षसम्म एउटै पदमा कार्यरत रहनुले व्यवस्थापकीय कमजोरी र सम्भावित मिलेमतोबारे समेत शंका बढाएको छ।

हाल दुवै पक्राउ परेका व्यक्तिमाथि ठगी र आपराधिक लाभसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, यो प्रकरणमा अन्य उच्च अधिकारीहरूको भूमिकाबारे पनि थप अनुसन्धान हुने संकेत गरिएको छ।