काठमाडौं, २१ असार । नेकपा एमालेभित्र निर्वाचन पराजयको समीक्षा र पार्टी पुनर्गठनबारे मतभेद थप चर्किएको छ। सुझाव संकलन अभियानका क्रममा अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वबाट नहट्ने स्पष्ट सन्देश दिँदै नेतृत्व परिवर्तनको माग गर्नेहरूलाई अनुशासनको कार्बाही गरिने चेतावनी दिएका छन्।
सुझाव संकलन कार्यक्रममा ओलीले आफूले कुनै गल्ती नगरेकाले नेतृत्व छोड्ने प्रश्न नै नउठ्ने बताएका थिए। सामाजिक सञ्जाल वा अन्य माध्यमबाट पार्टीविरुद्ध गतिविधि गर्ने र पुनर्गठनको नाममा गुटबन्दी गर्नेहरूमाथि कार्बाही हुने उनको चेतावनी थियो।
यद्यपि तल्ला तहका अधिकांश नेता तथा जनसंगठनका प्रतिनिधिहरूले भने पार्टीलाई पुनर्गठन गरेर नयाँ ढंगले अघि बढ्नुपर्ने धारणा राखेका छन्। केही नेताले अध्यक्ष ओली र नेता महेश बस्नेतले सचिवालयको निर्णयविपरीत अभिव्यक्ति दिएको भन्दै उनीहरूमाथि नै अनुशासनको कार्बाही गर्नुपर्ने मागसमेत गरेका छन्।
सुझाव संकलन अभियानपछि तयार हुने अन्तिम प्रतिवेदन महासचिव शंकर पोखरेलले केन्द्रीय कमिटीमा पेश गर्ने तयारी छ। तर अध्यक्ष ओलीको अडान र पुनर्गठन पक्षधर नेताहरूको दबाबका कारण प्रतिवेदन सर्वसम्मत हुने सम्भावना कमजोर देखिएको नेताहरूको भनाइ छ।
शनिबार च्यासलमा आयोजित ‘पार्टी जागरण अभियान’ कार्यक्रममा पनि अध्यक्ष ओली र महासचिव पोखरेलबीच फरक धारणा सार्वजनिक भएको थियो। ओलीले आफ्नो नेतृत्वको बचाउ गर्दै पुनर्गठनको औचित्य नरहेको बताए भने पोखरेलले पार्टीको वर्तमान संकट नेतृत्व प्रणाली र निर्णय प्रक्रियाको कमजोरीका कारण आएको बताएका थिए।
एमालेभित्र नेतृत्व र पुनर्गठनको बहस तीव्र बन्दै जाँदा आगामी केन्द्रीय कमिटी बैठकले पार्टीको भावी दिशा तय गर्ने अपेक्षा गरिएको छ।





