२१ असार, कर्णाली । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा आज बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जगदुल्ला–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप आज दिउँसो अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका-८ डोल्पाका ३८ वर्षीय विष्णु बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पद्म रावलले जानकारी दिए । उक्त जिपमा चालकसहित १२ जना सवार रहेकामा अन्य ११ जना घाइते भएका छन् ।
उनका अनुसार घाइते हुनेमा डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–७ का ४६ वर्षीय नन्दराम शाही, वडा नं ३ का २६ वर्षीय धनबहादुर डाँगी, जगदुल्ला गाउँपालिका–६ का २८ वर्षीय लालदेवी रोकाय, चार वर्षीय आवास रोकाय, २४ वर्षीया कर्णसरा बुढा, २४ वर्षीय धीरेन्द्र बूढाथोकी, दुई वर्षीय प्रितम बुढा, काइके गाउँपालिका(३ का ४४ वर्षीय भीमप्रसाद बुढा रहेका छन् ।
त्यस्तै, उक्त दुर्घटनामा परी जुम्लाको सिञ्जा गाउँपालिका–३ का ६२ वर्षीय डिल्लीप्रसाद उपाध्याय, गोठीचौर गाउँपालिका–४ का ६४ वर्षीय नित्यानन्द अधिकारी र बोलेरो चालक चन्दननाथ नगरपालिका–८ का अन्दाजी ३५ वर्षीय विन्दास रावल घाइते भएका प्रहरी निरीक्षक रावलले जानकारी दिए ।
घाइतेहरूको उद्धार गरी उपचारका लागि चन्दननाथ नगरपालिकाको एम्बुलेन्स र एउटा गाडीमार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको सूचना अधिकारी रावलले बताए । उनका अनुसार दुर्घटना कसरी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।





