२६ असार, काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाउने तयारी गरिएको छ।
वीर अस्पतालका सूचना अधिकारी डा. प्रकाश बुढाथोकीका अनुसार पोस्टमार्टमका लागि शिक्षण अस्पतालको फोरेन्सिक विभागसँग आवश्यक समन्वय भइरहेको छ। समन्वय प्रक्रिया पूरा भएपछि शव शिक्षण अस्पताल पठाइने उनले बताए।
गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरबाहिर आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको वीर अस्पतालको बर्न उपचार कक्षमा उपचार भइरहेको थियो। उपचारकै क्रममा शुक्रबार उनको निधन भएको हो।
यता, मृतकका आफन्तले भने हालसम्म शव बुझ्न अस्वीकार गरेका छन्। घटनापछि काठमाडौंका माइतीघर, भद्रकाली र वीर अस्पताल परिसरमा प्रदर्शनसमेत जारी रहेको छ। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन र सम्बन्धित निकायको जिम्मेवारीबारे स्पष्ट जवाफ मागिरहेका छन्।





