२६ असार, काठमाडौं । राष्ट्रिय सभाको बैठकमा मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको विषय उठाउँदै प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरिएको छ।
शुक्रबार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद विष्णुबहादुर विश्वकर्माले गणेश नेपालीको आत्मदाह प्रयास र त्यसपछिको घटनाक्रमप्रति सरकारलाई जिम्मेवार ठहर गर्दै प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिएर पदबाट हट्नुपर्ने बताएका हुन्।
उनले आगोमा जलिरहेका गणेश नेपालीलाई उद्धार गर्ने क्रममा अमानवीय व्यवहार भएको आरोप लगाए। घटनास्थलमा खटिएका प्रहरी र नगर प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै उनले जलिरहेको व्यक्तिलाई अपराधीसरह घिसारेर अस्पताल पुर्याइएको भन्दै संलग्नमाथि कडा कारबाही गर्न माग गरे।
सांसद विश्वकर्माले सरकारले नागरिकको जीवन रक्षा गर्न नसकेको आरोप लगाउँदै गणेश नेपालीको मृत्यु राज्यको असंवेदनशीलताको परिणाम भएको टिप्पणी गरे। उनले सरकारसँग नैतिकता बाँकी छ भने प्रधानमन्त्री बालेन शाहले तत्काल राजीनामा दिनुपर्ने धारणा पनि राखे।





