उर्जा

पूर्वाधार अभाव कि व्यवस्थापन कमजोरी ? वर्षायाममै खेरिँदै १ हजार मेगावाट बिजुली

२८ असार, काठमाडौं । नेपालमा विद्युत् उत्पादन बढ्दै गए पनि व्यवस्थापन र प्रसारण पूर्वाधारको अभावका कारण वर्षायाममा ठूलो मात्रामा बिजुली खेर गइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन, सबस्टेसन क्षमता र मागको समस्या देखाउँदै १ हजार मेगावाटभन्दा बढी विद्युत् खरिद गर्न नसकेको ऊर्जा उत्पादकहरूले बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले प्राधिकरणको एकल क्रेता प्रणालीका कारण निजी क्षेत्रका जलविद्युत् आयोजना प्रभावित भएको आरोप लगाएको छ । हाल ३० भन्दा बढी आयोजना ‘कन्टिन्जेन्सी’ मा राखेर उत्पादन घटाउन भनिएको इप्पानको भनाइ छ ।

ऊर्जा उत्पादकहरूले प्राधिकरणलाई उत्पादन, प्रसारण, वितरण र व्यापारका छुट्टाछुट्टै स्वायत्त निकायमा पुनर्संरचना गर्नुपर्ने माग गरेका छन् । उनीहरूका अनुसार प्रसारण पूर्वाधार विस्तार र बजार व्यवस्थापन सुधार नभएसम्म उत्पादन भएको बिजुली खेर जाने समस्या दोहोरिरहनेछ ।