ब्रेकिङ न्युज

मिटरब्याज पीडित किन हिँड्दैछन् काठमाडौं ?

२८ असार, काठमाडौं ।  मिटरब्याज पीडितहरू आफ्ना माग पूरा गराउन जनकपुरधामदेखि काठमाडौंसम्म पैदल मार्च गर्दै अघि बढिरहेका छन् । न्यायको आशासहित सुरु भएको यात्रामा सहभागी पीडितहरू दैनिक २० किलोमिटरभन्दा बढी दूरी पार गरिरहेका छन् ।

असार २५ गते जनकपुरधामबाट सुरु भएको मार्चमा करिब ४०० जना सहभागी छन् । उनीहरू अहिले रौतहटको चपुर पुगेका छन् । वर्षा, गर्मी र लामो पैदल यात्राका कारण धेरैको खुट्टा सुन्निन थालेको छ भने कतिपयको खुट्टामा फोका र घाउसमेत देखिएको छ ।

पीडितहरूले ‘फर्जी लिखत खारेज गर’, ‘मिटरब्याजी साहुलाई कारबाही गर’ लगायतका नारा लगाउँदै सरकारको ध्यानाकर्षण गराइरहेका छन् । उनीहरूले मिटरब्याजसम्बन्धी लिखत खारेजी, विशेष न्यायाधिकरण गठन, दोषीमाथि कारबाही र पीडितको सम्पत्ति फिर्तालगायत ६ बुँदे माग अघि सारेका छन् ।

यात्रामा सहभागी पीडितहरूले जस्तोसुकै कठिनाइ भए पनि काठमाडौं पुगेर सिंहदरबारमा आफ्नो आवाज सुनाउने बताएका छन् । उनीहरूले यसअघि भएका सहमति कार्यान्वयन नभएकाले पुनः आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।

मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालको नेतृत्वमा अघि बढिरहेको यो मार्च काठमाडौं पुगेर थप दबाबमूलक आन्दोलन गर्ने तयारीमा छ । पीडितहरूका अनुसार देशभर ६० हजारभन्दा बढी व्यक्ति मिटरब्याज समस्याबाट प्रभावित छन् ।