समाचार

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण र टोपबहादुरलाई आज सजाय सुनाइने

२९ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका दुई पूर्वमन्त्रीसहित १६ जनालाई आज सजाय सुनाइने भएको छ।

काठमाडौं जिल्ला अदालतले असार २३ गते उक्त मुद्दामा फैसला सुनाउँदै १६ जनालाई दोषी ठहर गरेको थियो। न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय निर्धारणका लागि आजको पेशी तोकेको हो।

३१ जनालाई प्रतिवादी बनाइएको यस मुद्दामा १६ जना दोषी ठहर भएका छन् भने सात जनाले सफाइ पाएका छन्। अन्य प्रतिवादीको हकमा अदालतले अभियोगअनुसार फरक–फरक फैसला गरेको छ।

दोषी ठहर हुनेमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङटावा शेर्पा, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, डा। इन्द्रजित राई, टेननाथ रिजाल, केशव दुलाल, सानु भण्डारीलगायत रहेका छन्।

उनीहरू संगठित अपराध तथा राज्यविरुद्धको कसुरसम्बन्धी आरोपमा दोषी ठहर भएका हुन्।