३ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीभित्रको विवाद समाधान र एकताका लागि अघि सारेको ५ बुँदे प्रस्ताव सार्वजनिक गरेको छ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी, सदस्य, प्रदेश समिति सभापति तथा जिल्ला सभापतिहरूको बैठकले यसअघि राखिएको प्रस्ताव सार्वजनिक गरेको हो।
संस्थापन पक्षबाट एकताका विषयमा भ्रमपूर्ण प्रचार भएको भन्दै संस्थापनइतर समूहले त्यसको खण्डन गरेको छ। समूहले नियमित महाधिवेशनको पक्षमा रहेका नेताहरूले असम्भव प्रस्ताव राखेर एकता प्रक्रिया अवरुद्ध गरेको भन्ने प्रचार निराधार र भ्रामक भएको दाबी गरेको छ।
बैठकपछि नेता मीन विश्वकर्माले जारी गरेको विज्ञप्तिमा पार्टी उपसभापति विश्वप्रकाश शर्माले ह्वाट्सएपमार्फत निवर्तमान कार्यवाहक सभापतिलाई पठाएको प्रस्तावमाथि यसअघि नै छलफल गरी सहमतिका आधारमा अघि बढ्न सकिने गरी जवाफ दिइसकेको उल्लेख गरिएको छ।
संस्थापनइतर समूहले गत २०८३ जेठ १८ गते नै पठाएको पाँच बुँदे प्रस्तावलाई अहिले सार्वजनिक गरेको जनाएको छ।
कांग्रेसभित्र पछिल्लो समय नेतृत्व, महाधिवेशन र आन्तरिक सहमतिका विषयमा देखिएको मतभेद समाधान गर्न दुवै पक्षबीच संवाद जारी छ। सार्वजनिक गरिएको प्रस्तावलाई पार्टी एकताको प्रयासका रूपमा हेरिएको छ।
यस्ता छन् पाँच प्रस्ताव :
१) चौधौं महाधिवेशनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाएर गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने।
२) सभापति गगनकुमार थापाको बहुमत रहनेगरी कार्यसम्पादन समिति बनाउने।
३) पुनर्गठित केन्द्रीय कार्यसमितिको बैठकले १५ औं महाधिवेशनको कार्यतालिका घोषणा गर्ने।
४) वर्तमान संस्थापन पक्षको बहुमत रहनेगरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिहरू बनाउने।
५) महाधिवेशनका लागि सबैभन्दा महत्वपूर्ण आधार पार्टीको क्रियाशील सदस्यता भएकाले यसका लागि पार्टीभित्र विवाद हुनुअघि नै वर्तमान सभापति गगनकुमार थापा (तत्कालीन महामन्त्री) संयोजक रहेको समितिले टुंग्याएका सबै क्रियाशील सदस्यलाई १५ औं महाधिवेशनमा स्वतः सहभागी हुन पाउने व्यवस्था गरी उनीहरूको डिजिटल इन्ट्री गर्दै जाने। डिजिटल इन्ट्रीलाई पुनः नवीकरण भनी महाधिवेशनमा भाग लिन पाउने–नपाउने विषयसँग नजोड्ने।





