४ साउन, काठमाडौं । बाजुराको हिमाली गाउँपालिका–५ क्युडी क्षेत्रमा जिप दुर्घटना हुँदा चालकसहित नौ जना घाइते भएका छन्।
प्रहरीका अनुसार सोमबार दिउँसो करिब १:२५ बजे कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा गुडिरहेको सु.प्र.प्र. ०१–००१ ज १८७८ नम्बरको जिप सडकको मोडबाट करिब १० मिटर तल खसेपछि दुर्घटना भएको हो।
दुर्घटनामा जिप चालक हिमाली गाउँपालिका–२ नातीखोलाका २५ वर्षीय जनवीर बुढासहित नौ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ भने बाँकी पाँच जनाले सामान्य चोटपटक लागेको छ।
घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।





