४ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार तथा धितोपत्र व्यवसायमा देखिएका समस्या समाधानका लागि सरकार गम्भीर रहेको भन्दै सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक सुधार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार सिंहदरबारमा धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, स्टक ब्रोकर एसोसिएसन तथा पुँजी बजारसँग सम्बन्धित सरोकारवालासँग भएको छलफलमा प्रधानमन्त्री शाहले व्यवसायीका जायज माग कार्यान्वयनका लागि आवश्यक पहल गर्ने बताएका हुन्।
छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत पुँजीबजार समितिका सभापति प्रियराज रेग्मीका अनुसार प्रधानमन्त्रीले समस्या समाधानका लागि नयाँ समिति गठन गर्नुभन्दा सम्बन्धित निकायले तत्काल काम अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
सरोकारवालाले लगानीकर्ताको मनोबल बढाउने, कर प्रणालीमा रहेको अस्पष्टता हटाई घाटा समायोजनपछि मात्र कर लाग्ने व्यवस्था गर्नुपर्ने, ब्रोकरमार्फत मार्जिन लेन्डिङ सञ्चालनका लागि आवश्यक नियम बनाउनुपर्ने तथा बजारमा माग–आपूर्तिको सन्तुलन कायम गर्नुपर्ने सुझाव दिएका थिए।
यस्तै, स्टक एक्सचेन्जको पुनर्संरचना गरी प्रविधिमैत्री बनाउने, दक्ष जनशक्ति भित्र्याउने, धितोपत्र बोर्डले १० कित्ते नीतिको पुनरावलोकन गर्ने तथा योग्य संस्थागत लगानीकर्तामार्फत बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासनको व्यवस्था गर्नुपर्ने विषय पनि छलफलमा उठाइएको थियो।
बैठकमा धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, स्टक ब्रोकर एसोसिएसन अफ नेपाललगायत विभिन्न निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।





