४ साउन, काठमाडौं । सर्वोच्च अदालतको गत आर्थिक वर्षको कार्यसम्पादन विवरणले वर्तमान प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले अन्य न्यायाधीशको तुलनामा सबैभन्दा कम मुद्दा फर्स्यौट गरेको देखाएको छ।
सर्वोच्च अदालतले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा कार्यरत २० न्यायाधीशमध्ये राउतले औसत दैनिक ३.५३ वटा मुद्दा टुंग्याएका थिए भने प्रधानन्यायाधीश शर्माले दैनिक ५.७९ वटा मुद्दा फर्स्यौट गरेका छन्। दैनिक फैसला अनुपातका आधारमा उनीहरू क्रमशः सबैभन्दा कम र दोस्रो कम मुद्दा किनारा लगाउने न्यायाधीश बनेका हुन्।
यही अवधिमा सर्वोच्च अदालतका २० न्यायाधीशले मुद्दा, रिट तथा विभिन्न निवेदन गरी करिब २४ हजार ५ सय मुद्दाको टुंगो लगाएका छन्। समग्रमा प्रत्येक न्यायाधीशले औसत दैनिक ७.३७ वटा मुद्दा फैसला गरेको तथ्याङ्कमा उल्लेख छ। तर २० जनामध्ये ९ जना न्यायाधीशले मात्र यो औसतभन्दा बढी मुद्दा फर्स्यौट गरेका छन्।
दैनिक फैसला अनुपातका आधारमा गत वर्ष अवकाश प्राप्त न्यायाधीश डा. कुमार चुडाल सबैभन्दा बढी मुद्दा फर्स्यौट गर्ने न्यायाधीश बने। उनले औसत दैनिक ९.५० वटा मुद्दा टुंग्याएका थिए। त्यसपछि न्यायाधीश टेकप्रसाद ढुंगाना (दैनिक ९.४४) र श्रीकान्त पौडेल (दैनिक ८.४५) क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
यस्तै, तिलप्रसाद श्रेष्ठ, हरि फुयाँल, सपना प्रधान मल्ल, कुमार रेग्मी, महेश शर्मा पौडेल, शान्तिसिंह थापा र अब्दुल अजीज मुसलमान पनि औसतभन्दा बढी मुद्दा फर्स्यौट गर्ने न्यायाधीशको सूचीमा परेका छन्।
सर्वोच्च अदालतले न्यायाधीशले वर्षभर काम गरेको दिन र त्यस अवधिमा फैसला गरेका मुद्दाको संख्याका आधारमा दैनिक फैसला अनुपात गणना गर्ने गरेको छ। उक्त विवरण अदालतको वार्षिक प्रतिवेदनको आधार सामग्रीका रूपमा पनि समावेश गरिन्छ।





