४ साउन, काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा एउटा उजुरी परेको छ। निर्वाचन आयोगका लागि प्रस्तावित तीन पदाधिकारीविरुद्ध उजुरी आह्वान गरिएकोमा कार्कीविरुद्ध मात्र व्यक्तिगत उजुरी परेको हो।
संसदीय सुनुवाइ समिति सचिवालयका अनुसार कुल दुईवटा उजुरी दर्ता भएका छन्। तीमध्ये एउटा सैद्धान्तिक विषयसँग सम्बन्धित छ भने अर्को उजुरी प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीलाई लक्षित गरी परेको हो।
प्रस्तावित निर्वाचन आयुक्तहरू गुरु वाग्ले र डा. राजीव सुब्बाविरुद्ध भने कुनै उजुरी परेको छैन।
संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले सर्वोच्च अदालतका रजिस्ट्रारसमेत रहेका मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस गरेको थियो। कार्कीले सरकारी वकिलबाट सेवा सुरु गरी न्याय सेवामा लामो समय काम गरेका छन्।
त्यस्तै, पूर्वडीआईजी डा. राजीव सुब्बा र अवकाशप्राप्त गुरु वाग्लेलाई निर्वाचन आयुक्तका लागि सिफारिस गरिएको थियो। सुब्बा नेपाल प्रहरीमा सूचना प्रविधि विज्ञका रूपमा काम गरेका व्यक्ति हुन् भने वाग्ले निर्वाचन आयोगका पूर्वकर्मचारी हुन्।
संसदीय सुनुवाइ समितिले प्रस्तावित पदाधिकारीविरुद्ध असार २६ गते उजुरी आह्वान गरेको थियो। तोकिएको समयभित्र दुईवटा उजुरी परेको सचिवालयले जनाएको छ।
समितिको बैठक मंगलबार बिहान ११ बजे बस्नेछ। बैठकमा प्राप्त उजुरी खोल्ने, सदस्यहरूलाई वितरण गर्ने तथा प्रस्तावित पदाधिकारीहरूले पेश गरेका कार्ययोजना अध्ययनका लागि उपलब्ध गराउने कार्यसूची रहेको छ।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्र प्रस्तावित पदाधिकारीहरू संवैधानिक पदमा नियुक्त हुन सक्ने व्यवस्था छ।





