समाचार

च्याउ खोज्न गएका १४ महिलाको जंगलमा त्रासदीपूर्ण रात, २५ घण्टापछि सकुशल उद्धार

४ साउन, धनगढी । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना महिला बाटो बिराएर २५ घण्टासम्म जंगलमै अलपत्र परे । उनीहरू सोमबार दिउँसो सकुशल घर फर्किएका छन्।

भीमदत्त नगरपालिका–१९ बागफाँट क्षेत्रका ती महिलाहरू आइतबार बिहान च्याउ खोज्न निकुञ्जको जंगलतर्फ गएका थिए। च्याउ खोज्दै जाँदा उनीहरू निकुञ्जको निकै भित्री भागमा पुगेपछि फर्किने बाटो पहिचान गर्न नसकेका थिए।

समूहमा रहेका महिलामध्ये एक जनासँग मात्र मोबाइल थियो, तर त्यसमा सिमकार्ड नभएकाले उनीहरूले कसैसँग सम्पर्क गर्न सकेनन्। साँझसम्म बाटो खोज्दा पनि सफल नभएपछि उनीहरू जंगलमै रात बिताउन बाध्य भएका थिए।

उनीहरूले सालको रुखमुनि ओत लागेर रात काटेका थिए। त्यही क्रममा हात्तीको बथान नजिक आएपछि थप त्रास फैलिएको थियो। हात्तीको समूह अन्यत्र गएपछि महिलाहरू एकै ठाउँमा बसेर रात बिताएका थिए।

रातभर पानी परेपछि उनीहरू भिजेरै बस्न बाध्य भएका थिए। भोक, प्यास, चिसो र जंगली जनावरको डरबीच उनीहरूले बिहानसम्म समय कटाएका थिए।

उज्यालो भएपछि पुनः बाटो खोज्दै हिँडेका महिलाहरू सोमबार दिउँसो करिब १२ बजेपछि घर पुग्न सफल भएका हुन्।

उनीहरू सम्पर्कविहीन भएपछि आइतबार रातिदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजीमा परिचालन गरिएको थियो। सुरक्षाकर्मीले रातभर खोजी अभियान सञ्चालन गरे पनि महिलाहरू आफैं बाटो पहिल्याउँदै घर फर्किएका हुन्।

२५ घण्टासम्म जंगलमा बिताएर सकुशल फर्किएका महिलाहरूको परिवारले राहतको सास फेरेको छ। सुरक्षाकर्मीले उनीहरू घर फर्किएपछि खोजी अभियान अन्त्य गरेको जनाएको छ।