राजनीति

प्रचण्ड, बाबुराम र बादललाई पनि थुनामा राख्नुपर्छः ओली

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रभावशाली युवा नेता एवम् विप्लवका सारथी मानिने हेमन्तप्रकाश ओलीले पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, राम बहादुर थापा बादल लगायतलाई थुनामा राख्नुपर्ने बताएका छन् । एक अनलाईनसँगको कुराकानीमा भूमिगत रहेका स्थायी समिति सदस्य ओलीले आफ्नो पार्टी प्रवक्ता प्रकाण्डलाई चन्दाकै आरोप पक्राउ गरिएको हो भने हिजो प्रचण्ड, बाबुराम, बादलले पनि चन्दा उठाएको र उनीहरुलाई पनि थुनामा राख्नुपर्ने बताएका हुन् ।

नेता ओलीले प्रचण्ड, बाबुराम, बादल लगायतले बम्ह्लुट मच्चाएर हिजो केही नभएकाहरु आज खर्बपति भएको गम्भीर आरोप लगाएका छन् । उनले प्रचण्डहरूले नै भ्रष्टाचारीहरूलाई उकेरा लगाएको र संरक्षण गरेका बताएका छन् ।

“तिनीहरूलाई पहिला थुन्नुपर्छ, यदि यो राज्यसत्ताको त्यो नियम हो भने । के बुझ्नुपर्छ भने हामीले निश्चय नै चन्दा उठाएका छौँ । जबरजस्त कतै उठाएका छैनौँ । हामीले दोहोरो सत्ता छ भनेका छौँ । हाम्रो जनसत्ता, जसलाई कर तिर्नुपर्छ भनेका पनि छौँ, केही मानिसलाई वर्गीकरण गरेर ।, ओलीले भने, यसले गर्दा कुरा उनीहरूले भनेजस्तो आतंक होइन, यो राजनीतिक कुरा हो । राजनीतिक रूपमा वैकल्पिक शक्तिको उदय भएको छ । यो शक्तिलाई कसरी सक्ने विनास गर्ने भन्ने उनीहरूको उद्देश्य हो भनेर बुझ्न जरुरी छ ।”

प्रकाण्डले चन्दा उठाएर आतंक मच्चाएको भन्ने कुरा भ्रामक प्रचार, सत्यमा आधारित नरहेको र वाहियात कुरा भएको बताए । आफूहरुले चन्दा उठाउने गरेको तर त्यो जर्बस्ती नभएर स्वेच्छाले शुभचिन्तकले दिने गरेको उनको भनाई छ ।