आर्थिक

वर्डलिंकले बार्षिकोत्सवमा २१ रुपैयामा इन्टरनेट जडान गरिदिने

काठमाडौं । वल्र्डलिंक कम्युनिकेसन्सले २१ औं बर्ष प्रवेशको अबसरमा २१ रुपैयाँमा इन्टरनेट जडान गर्ने अफर ल्याएको छ । कम्पनीले आइतबार २१ औं बार्षिकोत्सव मनाएको छ ।
कम्पनीका कार्यकारी निर्देशक विजय जालानका अनुसार कम्पनीले २१ रुपैयाँ जडान शुल्कमै ५ एमविपिएस गतिमा इन्टरनेट उपलब्ध गराउनेछ । यही शुल्कमा ग्राहकले जडान गर्र्ने स्थानसम्म चाहिने फाइबर केबल, वाइफाइ राउटर र इन्टरनेट प्रोटोकल (आइपी) टिभी सेटअप बक्स निशुल्क पाउने छन् ।

त्यस्तै १ बर्षको इन्टरनेट शुल्क तिर्ने ग्राहकले ३ महिनासम्म आइपी टिभी निशुल्क हेर्न पाउने छन् । वाइफाइ राउटर लिन चाहने ग्राहकले ३ हजार रुपैयाँ धरौटी राख्नुपर्ने छ । इन्टरनेट सेवा छोड्दा उक्त धरौटी कम्पनीले फिर्ता गर्नेछ ।
आइपी टिभी नेपालमा पछिल्लो पटक भित्रिएको नयाँ प्रविधि हो । यस प्रविधिबाट ग्राहकले इन्टरनेट फाइबरकै माध्यमबाट टिभी हेर्न पाउने छन् । यस्तो प्रविधिबाट प्रसारण हुने टिभीमा ग्राहकले एक साताअगाडिको कार्यक्रमसमेत हेर्न सकिने जालानले जानकारी दिए ।

‘आइपी टिभीको प्रसारण गुणस्तरीय हुन्छ, उनले भने, यसमा टिभी हेर्दा एचडी गुणस्तरको पिक्चर हुने भएकाले धेरै गुणा स्पष्ट र सफा टिभी हेरेको अनुभूति गर्न सकिन्छ ।’ वल्डलिंकले नेट टिभी ब्राण्डमा आइपी टिभी प्रसारण सुरु गरेको छ । यसमा आफ्नो फूर्सदको समयमा मन लागेको च्यानलमा, मन लागेको कार्यक्रम हेर्न सकिन्छ ।

लोडसेडिङ वा जस्तोसुकै मौसममा पनि पिक्चरको गुणस्तर उच्चस्तरीय रहिरहन्छ । बार्षिकोत्सबका अबसरमा कम्पनीले आइतबार जाउलाखेलमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा २ सय जनाले रक्तदान गरेका छन् । कम्पनीले यसै अबसरमा विभिन्न स्थानमा रहेका अपांगता भएका ब्यक्तिलाई खानेकुरा वितरण गर्ने जालानले जानकारी दिए ।

कम्पनीले ललितपुरस्थित जिल्ला प्रशासन कार्यालयमा वाइफाइ हटस्पट स्थापना गर्ने निर्णयसमेत गरेको छ । कार्यकारी निर्देशक जालानले जिल्ला प्रशासनमा काम लिएर आउने सेवाग्राहीले उक्त हटस्पटबाट निशुल्क वाइफाइ प्रयोग गर्न पाउने बताए ।
वल्र्डलिंकले २१ बर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवा प्रदान गर्दै आएको छ । नया सेवाका रुपमा कम्पनीले गत सातादेखि आइपी टिभी सुरु गरेको हो ।