अन्तर्राष्ट्रिय

आफ्ना दुई सैनिक भारतीय सेनाले मारिदिएपछि पाकिस्तानले फर्कायो कडा जवाफ !

एजेन्सी– भारतले दुई देशबीचको सीमानामा सैन्य कार्वाहीको घोषणा गरे लगत्तै पाकिस्तानले भारतको कडा आलोचना गरेको छ । भारतले सीमानामा सैन्य कारवाही गर्दा पाकिस्तानी आतंककारीहरु मारिएको घोषणा गर्दै सैन्य अभियानको सुरुवात गरेको घोषणा गरिरहँदा पाकिस्तानले उक्त प्रतिक्रिया दिएको हो ।

भारतीय सेनाले भने पाकिस्तान प्रशासित काश्मीरमा आतंकवादीहरुले बनाएको आक्रमणको योजना विफल तुल्याउन पछिल्लो कारवाही गरिएको र त्यसमा केही आतंककारीहरु मारिएको बताउँदै आएको छ । तर त्यो दाबीको पाकिस्तानले उल्टै प्रतिवाद गर्दै भारतले कुनै कारवाही गर्न नसकेको त सीमापारिबाट चलाएको गोली लागेर आफ्ना २ सैनिक मारिएको जवाफ दिएको छ ।

भारतले पाकिस्तान आफ्नो भूमिमा आतंकवादी गतिविधि रोक्न विफल भएको दाबी गर्दै आएको छ । केही दिनदेखि भारतले आफ्नो नियन्त्रित काश्मिरबाट पाकिस्तान नियन्त्रित काश्मिरतर्फ निशाना दाबी रहेको बताइएको छ । सीमा पार गरेर आफ्नो भूमीमा घुस्न खोज्ने केही आतंककारीहरुलाई आफ्नो कारबाहीमा परेको भारतको दाबी छ ।

पाकिस्तानले भने कश्मीर क्षेत्रमा गरिएको भनिएको भारतीय कारबाहीको हल्ला भ्रामक भएको दाबी गरेको छ । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले भारतीय सेनाले आफ्नो सेनामाथि अनावश्यक ढंगले गोली हानेर नांगो हस्तक्षेप गरेको बताएका छन् । उनले आफ्नो देशको सार्वभौमिकताको रक्षा गर्न आफ्नो सेना सामथ्र्यवान रहेको समेत दाबी गरेका छन् ।

केही हप्ताअघि भएको आतंकवादी आक्रमणमा १७ जना भारतीय सेना मारिएपछि यी दुई देशबीच ठूलो तनाव सृजना भएको छ । एक राष्ट्रले अर्को राष्ट्रमाथि कडा आरोप–प्रत्यारोप गरिरहेको पछिल्लो अवस्थाले युद्धकै तयारीमा गइरहेको झल्को दिइरहेको छ । मुस्लिम समुदायको बर्चस्व रहेको कश्मिरको विषयलाई लिएर यी दुई देशबीच थुप्रै वर्षदेखि चर्को विवाद चल्दै आएको छ । भारतको यो कदम लगत्तै पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले सुरक्षा परिषदको बैठक बोलाएका छन् । ।