प्रवास

बाढीपीडितलाई स्विजरल्यान्डबाट सहयोग

बेनी (म्याग्दी) । रोजगारको सिलसिलामा स्विजरल्यान्ड पुगेका म्याग्देलीले बेगखोलाका बाढीपीडितलाई आर्थिक सहयोग गरेका छन् । स्विजरल्यान्डमा कार्यरत म्याग्देलीको पहलमा सङ्कलित नगद एक लाख ६३ हजार सात सय १० रुपैयाँ सोमबार बेगखोलामै पुगेर हस्तान्तरण गरिएको छ ।

म्याग्दीको शिख देउराली घर भई हाल स्विजरल्यान्डमा बस्दै आएका जितबहादुर तिलिजामार्फत उक्त रकम बाढीपीडितलाई उपलब्ध गराइएको छ । सहयोगी तिलिजा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीका सभापति लेखबहादुर हमाल, नेकपा (एमाले) म्याग्दीका सचिव बालकृष्ण सुवेदी र शिख माध्यमिक विद्यालयका शिक्षक बेगबहादुर पुनले सहयोग रकम पीडितलाई हस्तान्तरण गरेका थिए ।

सो रकम बेगखोलाका बाढीपीडितका लागि सङ्कलनस्वरुप स्थापना गरिएको बैंक खातामा जम्मा गरिएको तिलिजाले जानकारी दिए । उनका अनुसार बाढीपीडितलाई म्याग्देली र गैरम्याग्देलीको सक्रियतामा स्विजरल्यान्डमा सहयोग सङ्कलनका लागि अभियान चलाइएको थियो । शिखका जितबहादुर तिलिजा, राखुका शान्त भण्डारी र बेनीका ज्ञानेन्द्र केसीले सहयोग रकम सङ्कलन गरेका थिए ।

गएको भदौ १६ गते मध्यरातमा बेगखोलामा आएको बाढीले ११ घर बगाउनुका साथै तीन घर प्रभावित बनेका थिए । बाढीले बेगखोला माथिको पक्की मोटरेबल तथा झोलुङ्गेपुल बगाएको थियो भने बाढीकै कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध बनाएको थियो । बाढीमा परी हालसम्म बेगखोलाका एकजना बेपत्ता छन् ।