पु.समाचार

कांग्रेस सभापति देउवा भारत जाँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक १९ देखि तीन दिन भारत भ्रमण गर्ने भएका छन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको राजकीय भ्रमण सकेर दिल्ली फर्किने दिन नै देउवा दिल्ली हुँदै गोवा जान लागेका हुन् । स्रोतका अनुसार भ्रमणमा देउवाले भारतमा उच्च राजनीतिक भेटघाटसमेत गर्नेछन् ।

भारतीय जनता पार्टी (भाजपा) निकट रहेको थिङ ट्यांक ‘इन्डिया फाउन्डेसन’ले गोवामा गर्न लागेको एक सेमिनारमा भाग लिन देउवा भारत आउन लागेका हुन् । गोवामा उनी प्रजातन्त्र, विकास र बीपी विषयक सेमिनारको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

सेमिनारमा भारतका अर्थमन्त्री तथा भाजपा नेता अरुण जेटलीलगायत विभिन्न राजनीतिक दलका नेताहरूसमेत सहभागी हुनेछन् । गोवाको कार्यक्रम सकेर देउवा सोही दिन दिल्ली फर्किने छन् । देउवाले २० र २१ गते दिल्लीमा राजनीतिक भेटघाट गर्ने स्रोतले बतायो ।

देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्ने तालिका रहेको भए पनि भेट निश्चित भइसकेको छैन । उनले भाजपा अध्यक्ष अमित शाह तथा महासचिव राम माधवलाई भेट्ने छन् ।

‘अहिलेसम्म भेटको मिति तय भएको छैन,’ स्रोतले भन्यो, ‘देउवाले मोदीलाई अवश्य नै भेट्ने छन् ।’ मधेसवादी दलहरूको माग सम्बोधन गर्न संविधान संशोधनको तयारी भइरहेका बेला वर्तमान गठबन्धनको मुख्य पार्टीका सभापतिको भारत भ्रमणलाई निकै अर्थपूर्ण रूपमा लिइएको छ भन्दै मंगलबारको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।