आर्थिक

तीन महिनाभित्रै भित्रियो अर्बौको ‘भाई मसला’

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा विभिन्न मुलुकबाट झण्डै एक अर्ब रुपैयाँको सुख्खा फलफूल (ड्राई फ्रुट्स) आयात भएको छ । तिहारलाई लक्षित गर्दै व्यापारीले खरिद बढाएकाले साउनदेखि असोजसम्मै कुल बार्षिक आयातको एक तिहाई ‘ड्राइ फ्रुट्स’ नेपाल भित्रिएको हो ।

भन्सार विभागको तीन महिने तथ्याङ अनुसार साउनदेखि असोजसम्ममा ९५ करोड ५० लाख रुपैयाँ बराबरका ‘ड्राई फ्रुट्स’ आयात भएको छ । नेपालमा तिहारका बेला सबैभन्दा धेरै ‘ड्राई फ्रुट्स’ खपत हुन्छ । भाइटिकामा दिदी–बहिनीले दाजुभाईलाई टिका लगाएर सगुनको रुपमा दिने भएकाले यसलाई कतिपयले ‘भाई मसला’ समेत भन्ने गर्छन् ।

तिहारमा ओखर, काजु, किसमिस, खजुर, नरिवल, सुपारी, बदाम, हाडे बदामलगायतका सुख्खा फलफूलको खपत धेरै हुने गर्छ । नेपालमा छिमेकी मुलुक भारत र चीन सहित बेलायत, इटाली, भियतनाम, युएई, इन्डोनेसिया, पाकिस्तान, कतार, थाइल्यान्ड, अमेरिकालगयातका मुलुकबाट यस्ता उत्पादन आयात हुने गरेका छन् ।

विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ८१ लाख किलोभन्दा बढी ‘ड्राइ फ्रुट्स’ आयात भएको हो । यस अवधीमा स्याउ, केरालगायतका हरिया तथा अन्य सुख्खा गरि करिब ३ अर्ब ४ करोड रुपैयाँ बराबरको फलफूल आयात भएको छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७२/७३ मा ‘ड्राई फ्रुट्स’ को आयात मात्र करिब तीन अर्ब ३९ करोड भएको थियो । गत वर्ष विभिन्न मुलुकबाट करिब तीन करोड ६७ लाख किलो ‘ड्राई फ्रुट्स’ नेपाल भित्रिएको थियो । गत वर्ष सुख्खा र हरियो गरि करिब १० अर्ब ८२ करोड रुपैयाँ बराबरको फलफूल नेपालमा आयात भएको भन्सारको तथ्याङमा उल्लेख छ । मंगलबारको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।