मनोरञ्जन

पोखरामा अग्निदहन चलचित्रकी माइली सम्मानित

पोखरा । बोक्सी कुप्रथाको अन्त्यका लागि क्रियाशील संस्था मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानद्वारा निर्माणाधीन ‘अग्निदहन’ चलचित्रमा कलाकारको भूमिका बहन गरेकी सुनाखरी परियार (माइली)लाई बिहीबार पोखरामा सम्मान गरिएको छ ।

प्रतिष्ठानद्वारा बिहीबार यहाँ आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सम्मानपत्रसहित दोसल्ला ओढाएर उनलाई सम्मान गरिएको हो ।

कार्यक्रममा सचिव थपलियाले सामाजिक अन्धविश्वासका कारण समाजमा बोक्सी प्रथाले स्थान पाएको बताउँदै यस्ता विकृतिको अन्त्यका लागि नेपाल सरकार सम्बद्ध सबै पक्ष र निकायसँग सहकार्य गरी अघि बढ्ने बताए ।

उनले बोक्सी प्रथाको अन्त्यका लागि गाउँबाट सुरु अभियान देशव्यापी बन्ने बताउँदै यस्ता अभियानमा सबैको सामूहिक प्रयास आवश्यक रहेको धारणा राखे । बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्यायले मान्छे बोक्सी हुँदैन र बोक्सीको आरोपमा कसैमाथि पनि कुनै प्रकारको हिंसा हुनुहुँदैन भन्ने चेतना जगाउने उद्देश्यका साथ ‘अग्निदहन’ चलचित्रको निर्माण गरिएको जानकारी दिए ।

चलचित्रको छायाङ्कन सम्पन्न भएको बताउँदै उनले चलचित्रमा बोक्सीमाथि हुने गालीगलौज, कुटपिट, सामाजिक बहिष्कारदेखि हत्या गर्ने सम्मका विद्यमान अमानवीय र जघन्य अपराधलाई जीवन्त चित्रण गर्ने प्रयास गरिएको बताउनुभयो । सरकार र नागरिक दुवैको सहयोग र सहानुभूति पाएमा आगामी १५ वर्षभित्रै नेपाललाई ‘बोक्सीमुक्त देश’ घोषणा गर्ने सोच प्रतिष्ठानले राखेको छ ।

कार्यक्रममा गैरसरकारी महासङ्घका केन्द्रीय सचिव रामप्रसाद सुवेदी, प्रतिष्ठानका संरक्षक भुवनेश्वर शर्मा पौडेल लगायतले अन्धविश्वासका कारण समाजमा विद्यमान बोक्सीजस्ता कुप्रथाको अन्त्यका लागि समाजमा सबैको सहकार्य आवश्यक हुनेमा जोड दिएका थिए । रासस