राजनीति

दुई राप्रपाबीच आज एकीकरण हुँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका पदाधिकारीको अन्तिम बैठकले पार्टी राप्रपासँग एकीकृत भएपछि सशक्त राष्ट्रिवादी शक्तिका रूपमा भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष कमल थापाको निवास विशालनगरमा आइतबार बसेको बैठकले संविधान संशोधनका क्रममा दुवै पार्टीका साझा विषयलाई कायम गराउन नेतृत्वदायी भूमिका खेल्ने जनाएको पार्टी प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।

बैठकमा सोमबार हुन लागेको दुई पार्टीको एकीकरण तथा घोषणा सभाको तयारीका लागि समेत छलफल भएको छ । दुवै पार्टीबीच संवैधानिक राजतन्त्र र सङ्घीयताका विषयमा महाधिवेशनले टुङ्गो लगाउने तथा नेपाललाई ‘हिन्दू राष्ट्र’ कायम गराउन भूमिका खेल्ने समझदारी गरिएको छ ।

अन्तरिम विधान २०७३ अनुसार दुवै पार्टीका पदाधिकारी तथा नेताको व्यवस्थापन गरिनेछ । पार्टीले राप्रपासँग गर्न लागिएको एकताका लागि सैद्धान्तिक सहमति दिन केन्द्रीय समितिलाई जिम्मा दिएको छ । सोमबारको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।