आर्थिक

भारतीय रुपैयाँ नपाए महंगी बढ्न सक्ने संकेत

काठमाडौं । आयातकर्ताले पर्याप्त नगद भारु नपाए दुईपक्षीय व्यापारको लागत ३० प्रतिशतसम्म बढ्ने र त्यसको भार महँगीमा पर्ने व्यवसायीले बताएका छन् ।

‘अहिले हामीलाई ड्राफ्टमार्फत कारोबार गर्न भनिएको छ,’ उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति मुरारकाले भने, ‘त्यसो गरियो भने कारोबार लागत ३० प्रतिशत र उद्योगको उत्पादन लागत १० प्रतिशतसम्म बढ्ने देखिएको छ ।’

यसअघि व्यवसायीले नगदमा कारोबार गर्दा लागत कम परेको र त्यसले महँगी नियन्त्रणमा समेत सहयोग पुगेको महासंघ पदाधिकारीको भनाइ छ ।
राष्ट्र बैंकको एक अध्ययनले भारतबाट हुने आयातको २८ दशमलव ७ प्रतिशत मात्रै प्रतीतपत्र (एलसी) मार्फत भुक्तानी हुने गरेको देखाएको छ । ‘यस आधारमा पनि दुईपक्षीय व्यापारमा नगद भारुको प्रयोग निकै बढी रहेको अनुमान गर्न सकिन्छ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक थापाले भने ।

राष्ट्र बैंक भन्छ– हामीसँग पर्याप्त भारु छ
महासंघ अध्यक्ष मुरारकाले राष्ट्र बैंकले पर्याप्त नगद भारु सटही नगरेको गुनासो गरेपछि राष्ट्र बैंकका कार्यकारी निर्देशक थापाले पर्याप्त नगद भारु रहेको बताए ।

‘भारत सरकारले जनवरीसम्म बजारमा भारुको अभाव हुनसक्ने आँकलन गरेको छ,’ उनले भने, ‘तर, हामीसँग कम्तीमा एक वर्षका लागि पर्याप्त हुने नगद भारु सञ्चिति छ ।’

त्यसपछि पनि भारु खरिद गर्न राष्ट्र बैंकसँग निकै ठूलो विदेशी विनिमय सञ्चिति रहेको भन्दै उनले नआत्तिन व्यवसायीलाई आग्रह गरे । ‘हामीसँग अहिले पनि १० खर्ब ५४ अर्ब विदेशी विनिमय सञ्चिति छ,’ उनले भने ।

यसले भारु अभावका कारण दुईपक्षीय व्यापारमा असर नपर्ने उनले तर्क गरे । मंगलबारको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।