पु.समाचार

तिनकुनेमा शान्ति मण्डला बनाउने योजना अलपत्र

काठमाडौं । मुआब्जा समस्याले तिनकुनेको खाली जग्गामा शान्ति मण्डला बनाउने योजना अलपत्र परेको छ । काठमाडौं महानगरपालिकाले मण्डला निर्माण गर्न सम्भाव्यता अध्ययन गरिसकेको छ ।

महानगर प्रवक्ता ज्ञानेन्द्र कार्कीले मुआब्जा समस्याकै कारण मण्डला निर्माणको काम अघि नबढेको बताए । ‘तिनकुनेमा अत्याधुनिक ल्यान्डमार्क बनाउने योजना बन्यो । यसको सम्भाव्यता अध्ययन पनि भयो,’ कार्कीले भने, ‘त्यसपछिको काम अघि बढ्न सकेको छैन । यसको मुख्य कारण मुआब्जा समस्या नै हो । यो समस्या समाधन भए काम अघि बढ्छ ।’

महानगरका अनुसार जग्गा अधिग्रहणपछि ८० प्रतिशतले मुआब्जा रकम लिइसकेका छन् । २० प्रतिशत अर्थात् आठ जग्गाधनीले मुआब्जा लिएका छैनन् । महानगरले भने मुआब्जा रकम जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पठाइसकेको छ ।

‘तिनकुनेको मुआब्जा रकम लिन आठजना मात्रै बाँकी छन् । उनीहरूको रकम सिडिओ कार्यालयमा पठाइसकिएको छ,’ महानगरका प्रवक्ता कार्कीले भने, ‘तर, उनीहरू अहिलेसम्म रकम लिन आएका छैनन् । यही समस्याले काम अघि बढेको छैन ।’

महानगरका अनुसार तीनकुनेमा ३५ रोपनी एक आना २ पैसा ३ दाम जग्गा छ । त्यसमध्ये मुआब्जा वितरणयोग्य जग्गा ३० रोपनी हो । सरकारले सार्वजनिक सूचना निकालेर २१ रोपनी ११ आना २ पैसा १ दशमलव ९ दाम जग्गाको मुआब्जा वितरण गरिसकेको छ । बाँकी करिब आठ रोपनी जग्गाका धनीले मुआब्जा लिन मानेका छैनन् ।

आठ जग्गाधनीले मुआब्जा कम भएको भन्दै रकम लिन मानेका छैनन् । उनीहरूले सडकको बीचभागबाट २५ मिटर दायाँबायाँ पर्ने जग्गाको मुआब्जा मागेको महानगरले जनाएको छ । तर, सरकारले सडकको बीचदेखि २५ मिटर दायाँबायाँको जग्गा पहिले नै अधिग्रहण गरेकाले मुआब्जा दिने गरेको छैन । मंगलबारको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।