राजनीति

मधेसी मोर्चा र सत्ता गठबन्धनबीच नयाँ समझ्दारी

काठमाडौं – मधेसी मोर्चाले संविधान संशोधन प्रस्ताव अघि बढाउन सत्ता गठबन्धनलाई सहमति दिएको छ । सत्तारूढ कांग्रेस र माओवादी केन्द्रसित बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक गरी मोर्चा आबद्ध सात मधेसवादीमध्ये ६ दलले त्यस्तो सहमति दिएका हुन् ।
सरकारले उक्त प्रस्ताव दुई दिनभित्र पेस गरिसक्ने समझदारी बनेको छ । संघीय समाजवादी फोरमले भने संघीय गठबन्धनसित सहमति नगरी संशोधन प्रस्ताव अघि बढाए अमान्य हुने बताएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्तावमा ठूला तीन दलबीच साझा धारणा बनाउन आफूले कोसिस गरे पनि प्रमुख प्रतिपक्षी एमाले तयार नभएको भन्दै मोर्चासमेत अस्पष्ट हुने हो भने त्यस्तो प्रस्ताव अघि बढाउनुको अर्थ नहुने बताएका थिए ।

मोर्चासँग संशोधन प्रस्ताव पेस हुनुअगावै कुनै सहमति नभए पनि साउन १९ गते कांग्रेस र माअ‍ोवादीले गरेको तीनबँुदे सहमतिकै ‘स्पिरिट’ मा अघि बढ्न आफू तयार रहेको भन्दै प्रधानमन्त्रीले मोर्चाको प्रस्ट धारणा मागेका थिए ।

दाहालअघि बोल्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संशोधन प्रस्तावमा सहमति भए या नभए पनि निर्वाचनमार्फत संविधान कार्यान्वयनमा लैजान मोर्चाको प्रतिबद्धता माग गरेका थिए । प्रस्ताव अघि बढाउन दुवै पक्ष तयार देखिए पनि प्रस्तावका विषयवस्तुबारे सहमति भइनसकेकाले पहिल्यै सहमतिबारे स्पष्ट धारणा बनाउन उनको आग्रह थियो ।

‘अहिले प्रस्ताव लैजान सहमति गर्ने तर पारित गर्ने बेला अर्कै कुरा गर्ने हो भने त्यसको अर्थ हुँदैन, त्यसैले पहिल्यै कुरा स्पष्ट गरौं,’ श्रेष्ठले मोर्चा नेताहरूसँग भने, ‘संविधान कार्यान्वयनका लागि चुनाव अनिवार्य छ । त्यहाँसम्म जाने तपार्इंहरूको स्पष्ट प्रतिबद्धता चाहियो ।’

श्रेष्ठकै कुरामा सहमति जनाउँदै दाहालले तीन ठूला निर्वाचनमध्ये स्थानीय तहको निर्वाचन यसै वर्ष अन्तिमसम्म गरिसक्नुपर्ने क्यालेन्डर सम्झाउँदै मोर्चा त्यसमा तयार नहुने हो भने संशोधन प्रस्ताव मात्रै पेस गर्नु पर्याप्त नहुने बताएका थिए ।

उनको भनाइमा कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति जनाउँदै संविधान कार्यान्वयन गर्न मोर्चा लचिलो हुनुपर्ने भनाइ राखेका थिए । देउवाले संविधान कार्यान्वयनको विषय सरकार वा ठूला दलको मात्रै नभई मोर्चाको समेत जिम्मेवारी भएको सम्झाउँदै अरू राजनीतिक माग देखाएर पछि नहट्न आग्रह गरेका थिए । बिहीबारको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।