समाचार

जलेको गाडीभित्र भेटियो पुरुषको शव

काठमाडौं । बिहीबार मझुवा–१ मा पर्ने निगलपानी मानेडाँडामा बिहान आगो लागेको जिपभित्र पुरुषको शव भेटिएको छ । आगो लाग्नुको कारण खुलेको छैन ।  मे।१ज २१८७ नम्बरको बोलेरो जिपभित्र शव भेटिएको हो । स्थानीय एक शिक्षकले बिहान ६ बजेतिर गाडीमा आगो लागेको देखेपछि गाउँमा हल्लाखल्ला गरेको स्थानीय जयप्रकाश प्रधानले बताए । स्थानीयले नै इलाका प्रहरी कार्यालय चोप्राङमा खबर गरेका थिए ।

प्रहरी घटनास्थल पुग्दा गाडी पूर्ण रूपमा जलिसकेको थियो । गाडीभित्र एक पुरुषको शव जलेर नचिनिने अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक प्रेम जोशीले जानकारी दिए । घटनास्थलमा ‘जनमुक्ति सेना’ लेखिएको केही पर्चा फेला परेको उनले बताए ।

प्रहरीका अनुसार जिप झापाबाट रिजर्भमा बिपी राजमार्ग हुँदै काठमाडौंका लागि छुटेको थियो । जिप बिहीबार बिहान साढे २ बजे इलाका प्रहरी कार्यालय खुर्कोटमा इन्ट्री भएको थियो । प्रहरीका अनुसार इन्ट्री गर्दा चालकसहित तीन यात्री भएको देखाइएको छ । गाडीचालक दमकका विशाल खड्का भएको प्रहरीले पुष्टि गरेको छ । उनैले गाडी चलाएको बताइएको छ । परिवारले दिएको हुलियाका आधारमा गाडीभित्र खड्काकै शव हुन सक्ने प्रहरी निरीक्षक जोशीले जानकारी दिए । उनले भने, ‘उनको परिवारलाई झापाको दमकबाट झिकाइएकाले परिवारका सदस्य आएपछि मात्र टुंगो लाग्छ ।’

काठमाडौं हिँडेको जिप सिन्धुलीको झाँगाझोलीबाट बिपी राजमार्ग छाडी उत्तरतर्फ लागेको थियो । बिपी राजमार्ग छाडी रामेछापको भिरपानीस्थित सित्खापुल हुँदै जिप बिहान साढे ४ बजे खाँडादेवी गाविसमा पर्ने गाल्वा बजारतर्फ उकालो लागेको देखेको स्थानीयले बताएका छन् । गाडी मझुवा–१ मानेडाँडामा पुगेपछि अचानक आगो लागेको स्थानीयले देखेपछि प्रहरीमा खबर गरेका थिए ।

आगलागीपछि एकजनाको मात्र शव फेला परेको र अन्य व्यक्ति सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुली र खुर्कोटमा गाडी इन्ट्री गर्दा काठमाडौंका लागि भनी लेखाइएको गाडी रामेछापतर्फ जानु, चालकबाहेक गाडीमा रहेका यात्रु नभेटिनु र गाडी जलेको स्थानमा जनमुक्ति सेनाको पर्चा भेटिनुले घटना रहस्यपूर्ण बनेको प्रहरीको भनाइ छ ।

घटनास्थल पुग्न जिल्ला सदरमुकाम मन्थलीबाट यातायातको साधनमा चार घन्टा लाग्छ । रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले घटना नियोजित भएको हुन सक्ने बताए । उनले घटनास्थलमा जनमुक्ति सेनाका पर्चा छरेर अपराधी उम्कन खोजेजस्तो देखिएको बताए । शुक्रबारको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।