समाचार

मध्यराती प्रेमीबाट खोसेर युवतीमाथि सामुहिक बलात्कार

काठमाडौं । ललितपुरको इमाडोलमा बुधबार राति २० वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । आफ्नो प्रेमीसँग हिँडिरहेका बेला मोटरसाइकलमा आएका तीन जनाले ती युवतीलाई नियन्त्रणमा लिएर बलात्कार गरेको उजुरी परेको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न तीनै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

बलात्कृत युवती ललितपुरको ग्वार्कोस्थित एउटा दोहोरी साँझमा काम गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आफ्नो डिउटी सकेपछि ती युवती प्रेमीसँगै मंगलबजार सुन्धारास्थित आफ्नो कोठामा गएकी थिइन् । तर राति घरबेटीले गेट नखोलेपछि उनीहरु हिँडेर प्रेमीको इमाडोलस्थित कोठामा जाँदै थिए । इमाडोलको कृष्णमन्दिर नजिक पुगेपछि एउटै मोटरसाइकलमा आएका तीन जना युवाले उनीहरुलाई राके । ती युवाले प्रहरीले झै केरकार गर्न थाले । सोही क्रममा ती युवाले प्रेमीलाई सख्त कुटपिट गरे र उनको प्रेमिकालाई मोटरसाइकलको बीचमा हालेर लगे । त्यसपछि प्रेमी मध्यरातमै प्रहरी कार्यालयमा गए र घटनाको विस्तृत जानकारी गराए ।

प्रहरीले तत्कालै आफ्नो जनशक्ति परिचालन गर्यो । राति साढे २ बजे प्रहरीले युवतीलाई उद्धार गर्दै बलात्कारमा संलग्न युवालाई समात्न सफल भयो । उनीहरुलाई रातोभाले चोकबाट नियन्त्रणमा लिइएको हो । शुक्रबारको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

पक्राउ पर्ने युवामा इमाडोलका प्रवेश थापा, निर्मल थापा र कास्कीका सुशील अर्याल छन् । ललितपुरका डीएसपी ईश्वर कार्कीले प्रेमीलाई कुटपीट गरेपछि ती युवाले युवतीलाई मोटरसाइकलको बीचमा राखेर कोठामा लगी सामूहिक बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएको बताए ।