समाचार

बालुवाटारबाट ६ दिनदेखि बेपत्ता यी बालक कहाँ छन् ? यसो भन्छ प्रहरी !

सुर्यखबर सम्बाददाता–
काठमाण्डौ । नेपाली कांग्रेसको भातृसंगठन तरुण दलकी पूर्व केन्द्रीय सदस्य सरस्वती साहको १४ वर्षीय छोरा विगत ६ दिनदेखि काठमाण्डौबाट वेपत्ता भएका छन् । मंसिर ६ गते काठमाण्डौको बालुवाटारबाट विद्यालय जाने क्रममा साहका १४ वर्षीय छोरा युरोप साह एक्कासि वेपत्ता भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

एक्कासि छोरा बेपता भएपछि साह परिवारमा यसबेला तनाव उत्पन्न भएको छ । नियमित स्कुल गइरहने छोरा एक्कासि वेपता भएर कहाँ र कता गयो भन्ने निक्र्योल हुन नसक्दा केही सोच्नै नसकेको बेपता भएका यूरोपकी आमा सरस्वतीले बताइन् ।

यो समाचार तयार पार्दा सरस्वती आफै भक्कानिएकी थिइन् । एक छोरा र एक छोरी रहेको सो परिवारमा अहिले एक्कासि विपत्ति आइलागेको छ ।

बेपत्ता भएका बालक यूरोपलाई विद्यालयमा साथीहरुले सासत्व नामले समेत बोलाउने गर्थे । बेपता बालकका बुबा विक्रम बम पनि राजनीतिमा सक्रिय छन् । बम राजावादी कार्यकर्ताको रुपमा चिनिने गर्छन् । छोरी भने लिटिल एन्जेलसमा कक्षा ५ मा अध्ययनरत रहेकको सरस्वतीले बताएकी छन् ।

उता, प्रहरीले भने बेपत्ता बालकको खोजी भैरहेको बताएको छ । बालक हराएको उजुरी परेलगत्तै डिएसपी रमेश थापाको नेतृत्वमा अनुसन्धान टोली खटिरहेको महानगरीय प्रहरी प्रमुख आयुक्त प्रतापसिंह थापाले सुर्य खबर डट कमलाई बताए । प्रहरी प्रमुख थापाले बालक कुनै साथीको घरमा गएको हुनसक्ने बताए ।