पु.समाचार

बेपता बालक युरोप भारतको गोरखपुरमा भेटिए, यसरी पुर्याएछन् अज्ञात समुहले गोरखपुर !

काठमाण्डौ । गत मंसिर ६ गते बालुवाटारबाट बेपत्ता भएका यूरोप साह भेटिएका छन् । भारतको गोरखपुर पुगेको अवस्थामा उनलाई त्यहाँको प्रहरीको सहयोगमा भेटिएको हो ।  पारिवारिक श्रोतका अनुसार आइतबार उनलाई सुनौली नाकाबाट काठमाण्डौ ल्याइँदैछ । युरोपकी आमा सरस्वती साहका अनुसार उनले छोरासँग फोनमा कुराकानी समेत गरेकी छन् ।

गोरखपुर कसले र किन पुर्यायो भन्ने सवालमा परिवार र प्रहरीले समेत स्पष्ट कुरा खुलाएको छैन । सरस्वतीले फोनमा छोरासँग छोटा कुराकानी गर्दा युरोपले आफुलाई केही मानिसहरुले ट्याक्सीमा हालेर लगेको बताएका छन् ।

गोरखपुरमा छोरा भेटिएको खबर सरस्वतीलाई एक युवाले फोन गरेर सुनाएका थिए । तर ती युवा को हुन् भन्ने विषयमा समेत आफु अनविज्ञ रहेको उनले बताइन् ।

मंसिर ६ गते बिहान स्कुल गइरहेको बेला उनलाई अज्ञात व्यक्तिहरुले ट्याक्सी चढाएर, बस हुँदै गोरखपुरसम्म रेलमा लगेको बालक युरोपको भनाईबाट पुष्टि हुन्छ । आमा सरस्वतीका अनुसार भारतीय प्रहरीले बालकलाई नेपाल प्रहरीको जिम्मा लगाइदिएको छ । आइतबार बिहानसम्म युरोप सुनौली नाकास्थित प्रहरी कार्यालयमा राखिएको र त्यसपछि काठमाण्डौ ल्याइदै गरेको बताइएको छ ।

रक्षामन्त्री बालकृष्ण खाँडले समेत सुनौली नाकाका डिएसपीलाई फोन गरेर बालकलाई सुरक्षित ढंगले राख्ने निर्देशन दिएको युरोपकी आमा सरस्वतीले बताएकी छन् । सरस्वतीका अनुसार बालकलाई ट्याक्सीमा लैजानेहरुले कुनै औषधी प्रयोग गरेको हुनसक्ने आशंका समेत गरिएको छ । उनलाई ट्याक्सी चढाएर भारतको गोरखपुर पुर्याउँदासम्म धेरै कुरा थाहा नभएकोले उनको अवस्था नाजुक रहेको बताइन्छ । त्यसैले पनि प्रहरीले बालक युरोपलाई आमासँग फोनमा कुराकानी गर्न समेत थोरै समय दिएको थियो । घटनाका बारेमा प्रहरीले भने धेरै कुरा खुलाउन चाहेको देखिदैन ।

प्रहरीले भने साथीभाईको लहैलहैमा गोरखपुर पुगेको बताउँदै आएको छ, तर परिवारले गरेको दाबी र प्रहरीको भनाईको तालमेल नमिल्दा बालक युरोप कतै अपरहणमा परेका त होइनन् भन्ने शंका उब्जिन्छ । १४ वर्षीय युरोप नेपाली कांग्रेस निकट तरुण दलकी पूर्व केन्द्रीय सदस्य सरस्वती साहका छोरा हुन् ।