पु.समाचार

केपी ओलीको मधेसी मोर्चालाई कडा आरोप

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेसवादी दलका नेताले मधेसको मुद्दालाई मुद्रा (पैसा) सँग साटेको ठोकुवा गरेका छन् । एमाले भ्रातृ संगठन युवा संघ नेपाल, प्रचार तथा प्रकाशन विभागद्वारा प्रकाशित ‘युवा आवाज स् आधार र कार्यभार’ पुस्तकको आइतबार लोकार्पण गर्दै ओलीले मधेसका मुद्दा भन्दै मधेसकेन्द्रित दलले त्यसलाई मुद्रासँग साट्ने गरेको ठोकुवा गरे ।

‘मधेसवादी दलका नेता भन्छन्, ‘मधेसको मुद्दा–मधेसको मुद्दा, यो भएन–त्यो भएन,’ ओलीले भने, ‘मधेसको मुद्दा भन्दै त्यो मुद्दालाई मुद्रासँग साटिन्छ ।’ मधेसका नेताहरू आफू सरकारमा हुँदा केही नगर्ने र सरकार छाडेपछि आन्दोलनका कुरा गर्नेले विकासका काम किन गर्दैनन् भन्दै उनले प्रश्न गरे ।

एक वर्षअघि संविधान संशोधन गर्दा नै मधेसी नेताले स्वीकार गरेको ओलीले प्रस्ट पारे । ‘त्यतिबेला संविधान संशोधन भए मधेसको माग पूरा हुन्छ भनियो, तर पुनः संशोधन गर्नुपर्ने माग जारी नै रहेको बताए । फेरि पनि संशोधन भए अझै पुगेन भन्दै मधेसका नाममा लुट्न पल्केकाहरू आन्दोलन गरि नै राख्ने, निहुँ खोजि नै राख्ने योजनामा छन्,’ ओलीले भने । सोमबारको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।